२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरू हुँदै छ । आजबाट १९ गतेसम्म सञ्चालन हुने एसइई परीक्षामा ११ हजार २ सय १६ विद्यालयबाट ५ लाख १४ हजार ७१ जनाले परीक्षा दिँदैछन् । गत वर्ष ४ लाख ६४ हजार ७ सय ८५ परीक्षार्थी सहभागी भएकोमा यस वर्ष परीक्षार्थीको संख्यामा ४९ हजार २ सय ८६ ले वृद्धि भएको हो । त्यसमा प्राविधिक धारतर्फका १६ हजार ९ सय ४७ विद्यार्थी छन् ।
सबैभन्दा बढी काठमाडौंमा ३९ हजार ६ सय र कम मनाङमा ४३ जना परीक्षार्थीले परीक्षा दिँदैछन् । तथ्याङ्कअनुसार परीक्षामा २ लाख ५७ हजार ७ सय ३० छात्रा र २ लाख ५६ हजार ७ सय ११ छात्र सहभागी हुनेछन् । परीक्षामा देशभर २ हजार ७९ र जापानमा १ गरी ८० परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
त्यसै गरी बालसुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरिएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले काठमाडौं र दैलेखका दुई कारागार र भक्तपुरको बाल सुधारगृहबाट परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिनुभयो । जापानको एभरेस्ट स्कुलमा पनि एउटा केन्द्र कायम गरेको छ । सो केन्द्रमा २९ जना परीक्षार्थी छन् । यो वर्ष कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनका ४ जनाले परीक्षा दिनेछन् ।
परीक्षामा १ सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्षको व्यवस्था गरिएको छ भने २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक र कार्यालय सहयोगी र सुरक्षाकर्मीसहित ७७ हजार ८ सय १६ कर्मचारी खटिनेछन् भने ३० हजार सुरक्षाकर्मी परिचालित छन् ।
परीक्षा नियन्त्रण कार्यालयले असार ७ मा परीक्षाफल प्रकाशित गर्ने गरी कार्यतालिका बनाएको जनाएको छ ।
परीक्षा नियन्त्रक पौडेलले परीक्षालाई मर्यादित र व्यवस्थित गर्न सुरक्षा निकाय, प्रदेश सरकार, प्रदेश शिक्षा निर्देशनालय र स्थानीय निकायसँग समन्वय गरिसकेको जानकारी दिनुभयो । उहाँले परीक्षामा जिल्ला शिक्षा समन्वय इकाइ र प्रदेश परीक्षा समितिले तोकेका सीमित कर्मचारीबाहेक अन्यलाई परीक्षा हलमा प्रवेशमा रोक लगाएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘दुई निकायले तोकेका बाहेक बाँकी सबैजना पर्यवेक्षक रहनेछन् ।’
परीक्षामा मोबाइल, डिजिटल घडी, किताब, गाईड, गेसपेपर बर्जित गरिएको छ । बोर्डले ७७ वटै जिल्ला शिक्षा समन्वय इकाइलाई पत्राचार गरी आचार संहितालाई कडाइका साथ पालना गराउन निर्देशन दिएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा तालिकाअनुसार पहिलो दिन आज अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।
भोलि ८ गते अनिवार्य नेपाली, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङ्लिस) को परीक्षा हुनेछ । १० गते अनिवार्य गणित र १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीय विषयको परीक्षा हुनेछ । यस वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन र प्रमाणीकरण हुनेछ । परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । २०८० सालको एसईईमा ४८ प्रतिशतमात्रै उत्तीर्ण भएका थिए ।
साधारण र प्राविधिक धारतर्फ गरी दुई प्रकारको परीक्षा हुनेछ । परीक्षामा साधारणतर्फ ६ र प्राविधिक धारतर्फ ६ अनिवार्य विषय छन् । बोर्डले प्रायः सबै विषयमा दुई सेट प्रश्नपत्र छापेर ढुवानी गरिसकेको छ । शान्ति सुरक्षाका लागि गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिने निर्णय भएको छ । दुई घेराको सुरक्षा व्यवस्थामा परीक्षाको बाहिरी घेरामा सशस्त्र र भित्री घेरामा सशस्त्र प्रहरी बल खटिनेछ । परीक्षामा कुनै समस्या आए राष्ट्रिय परीक्षा बोर्डले समन्वय गर्ने उल्लेख छ ।
उता, राष्ट्रिय परीक्षा बोर्डले हिजो बुधबार विज्ञप्ति जारी गरी विद्यार्थीलाई भयरहित वातावरणमा परीक्षा दिन पाउने व्यवस्या गर्न सम्बन्धित सबै निकायलाई आग्रह गरको छ । उहाँले सबै विद्यार्थीलाई भयरहित उच्च मनोबल र निर्भयका साथ परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको छ ।
एसईईलाई मर्यादित बनाउन मन्त्री भट्टराईको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन जारी गर्नुभएको छ । मन्त्री भट्टराईले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई विशेष जोड दिँदै परीक्षालाई सरकार र जनताप्रति जवाफदेही ढंगले सञ्चालन गर्न आग्रह गर्नुभयो ।
नियमविपरीत कार्य गर्ने जो कोहीलाई पनि कठोर कारबाही गरिने चेतावनी दिँदै उहाँले परीक्षाको मर्यादा कायम राख्न नसकेमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूसमेत जिम्मेवार हुनुपर्ने बताउनुभयो । परीक्षाको गुणस्तर कायम राख्न र नक्कललाई निरुत्साहित गर्न मन्त्रालयले विशेष निगरानीको व्यवस्था गरेको छ ।
मन्त्री भट्टराईले सबै विद्यार्थीले न्यायोचित अवसर पाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला निकायहरूको सहयोगको अपेक्षा गर्नुभएको छ । परीक्षाको सुरक्षा, सामग्री व्यवस्थापन र अन्य आवश्यक तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij