२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमा पुनः नियुक्त गरेका छन्।
बादलले आइतबार साँझ पाँच बजे राष्ट्रपति निवासमा गृहमन्त्रीका रुपमा शपथग्रहण गर्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। श्रोतका अनुसार उनी उपप्रधानमन्त्री सहितको गृह मन्त्री बन्दैछन्। तर इश्वर पोखरेल बादललाई उपप्रधानमन्त्री बनाउनु नहुने पक्षमा छन्।
संघीय संसदको सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ। सो व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले बादललाई गृहमन्त्रीमा पुनः नियुक्ति गरेका हुन्।
नेकपा माओवादी केन्द्रले बादललाई पद मुक्त गर्न मागसहित दर्ता गरेको पत्रका आधारमा आइतबारदेखि लागु हुने गरि उनको राष्ट्रियसभा सदस्य पद रिक्त भएको जानकारीसहितको सूचना संघीय संसद सचिवालयले निकालेको छ।
बादल २०७४ सालको चुनावमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए।
त्यसपछि माओवादी र एमाले एकता भएर नेकपा बनेको थियो। तर सर्वोच्चको आदेशले एकता खारेज भएपछि बादल पुरानो पार्टी माओवादीमा नफर्की एमालेमा लागेका हुन्।
माओवादी केन्द्रले एमालेमै बसेका कारण बादललाई कारवाही गरेको थियो र सांसदबाट पद मुक्त गर्न माग पत्र सचिवालयमा दर्ता गरेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij