२०८२ पौष १७ गते बिहिवार
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा सात खर्ब ६३ अर्ब आठ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो ।
अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार, विप्रेषण आप्रवाह चार दशमलव एक प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर चार दशमलव दुई प्रतिशतले वृद्धि भई आठ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।
अर्थ मन्त्रालयका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ११ दशमलव सात प्रतिशतले वृद्धि भई दुई लाख ३० हजार चार सय ३९ कायम भएको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा समीक्षा अवधिमा २१ दशमलव चार प्रतिशतले वृद्धि भई एक लाख ६२ हजार ६ सय २८ पुगेको छ ।
गत पुस मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तको २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँको तुलनामा १३ दशमलव पाँच प्रतिशतले वृद्धि भई २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ कायम भएको छ । १७ दशमलव तीन महिनाको वस्तु आयात र १४ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ ।
गत पुस मसान्तमा कायम कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २४ दशमलव तीन प्रतिशत रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij