२०८२ कार्तिक १८ गते मंगलवार
                                                    काठमाडौं । नेताहरूबाटै प्रश्न उठेपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउने तयारीबाट माओवादी नेतृत्व पछि हटेको छ । पदाधिकारी बैठकमा सहभागी हुन थालेका पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारीमा अध्यक्ष पुष्पकमल दाहाल थिए ।
तर उनको मनोनयन विधानविपरीत हुने र उपराष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउँदा गलत सन्देश जाने तर्क पार्टीभित्रैबाट आएपछि दाहालले मनोनयन थाती राखेका हुन् ।
हालै स्थायी समिति बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्मानित पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु गलत हुने बताएका थिए ।
पूर्वउपराष्ट्रपति पुनले पार्टीमा सक्रिय भएर योगदान गर्न चाहेको निकटस्थ नेताहरूसँग बताएका थिए । म कुनै पद लिन जानेभन्दा लडेर ल्याएको व्यवस्थामाथि केही योगदान गर्ने उद्देश्यले सक्रिय हुन खोजेको हुँ, उनको भनाइ थियो । दाहालले पनि उपराष्ट्रपति भइसके पनि पुनः राजनीतिमा आउन कानुनी बन्देज नभएको उल्लेख गरेका थिए । पार्टीमा सक्रिय हुने पुनको चाहनाअनुरूप बैठकमा बोलाउने गरिएको दाहालको भनाइ थियो ।
पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारी हाललाई स्थगित भएको माओवादीका एक पदाधिकारीका बताए । पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारी थियो । पार्टीभित्र प्रश्न उठेपछि स्थगित भएको छ, ती पदाधिकारीले भने ।
माओवादीका केन्द्रीय समिति सदस्य इन्द्र आङ्बोले राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति प्रश्नको घेराभन्दा माथि बस्नुपर्ने बताए । ‘राष्ट्रपति, उपराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनु उचित हुँदैन,’ उनले भने, ‘बरू सम्मानित अवस्थामै रहेर महिला, बालबालिका, वातावरण र शिक्षा, स्वास्थ्यका क्षेत्रमा काम गर्नर्पुर्छ ।’
सम्मानित पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा लाग्दा पुनः चुनावमा भिड्नुपर्ने अवस्था आउन सक्ने उनले बताए । जो कोही पार्टीभित्र र बाहिर लोकतान्त्रिक प्रणालीमा चुनिएर आउनुपर्छ, आङ्बोले भने, त्यस्तो ठाउँमा पुगेको मान्छे पराजित भए के हुन्छ ?
माओवादी सचिव राम कार्कीले राष्ट्रपति, उपराष्ट्रपति पदमा रहँदा वा नरहँदा आलोचनाभन्दा बाहिर बसेको व्यक्ति राजनीतिमा सक्रिय भए जे पनि सहन तयार हुनुपर्ने बताए । ‘राष्ट्रपति र उपराष्ट्रपति भएका बेला आलोचनाभन्दा बाहिर बस्छन् । पार्टीमा आए वैचारिक लडाइँ हुन्छ । समूह हुन्छन् । आरोपरप्रत्यारोप चल्छ । राजनीतिमा आउँदा यी सबै सहन्छु भनेर आउनुपर्ने हुन्छ, उनले भने, ‘गाउँपालिका अध्यक्षको उम्मेदवार हुन पनि तयार हुनुपर्छ ।’
पूर्वराष्ट्रपति वा पूर्वउपराष्ट्रपति राजनीतिमा सक्रिय हुन संवैधानिक र कानुनी बन्देज भने छैन । तर राज्यको सर्वोच्च पदमा पुगिसकेका व्यक्ति पुनः कुनै दल विशेषमा सक्रिय हुँदा व्यक्तिको नैतिकता र जिम्मवारीबोधको सवाल जोडिने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij