२०८२ कार्तिक १८ गते मंगलवार
                                                    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताले सरकारका हरेक कामबारे जानकारी पाउनुपर्ने बताएका छन् ।
लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार देउखुरीमा सरकारी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारीहरूका लागि आयोजना गरेको सूचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले सरकारका हरेक गतिबिधिबारे जानकारी पाउनु जनताको नैसर्गिक अधिकार भएको बताएका हुन् ।
जनताको सूचित हुने अधिकारलाई सम्मान गर्दै हरेक सरकारी क्रियाकलाप जनतासमक्ष पुर्याउनुपर्ने आवश्यकता रहेको उनले बताए ।
सरकारका हरेक काम स्पष्ट, छरितो र प्रभावकारी रूपमा जनतासमक्ष पुर्याउनु हाम्रो दायित्व सरकारका हरेक कार्यहरूमा पारदर्शिता आवश्यक छ । हाम्रा सबै काम जनताले छर्लंग देख्न पाउने वातावरण सिर्जना गर्नुपर्छ ।
जनताको माग बमोजिमसूचना उपलब्ध गराउन ढिलासुस्ती नगर्न र सूचना प्रवाहमा कुनै आनाकानी तथा अपारदर्शी प्रवृत्ति नगर्न उनले सूचना अधिकारीहरुलाई निर्देशन दिए । सरकारले जनताको हितका लागि काम गर्छ भन्ने महसुस गराउनुपर्छ ।
जनताले मागेका सूचना स्पष्ट रूपमा छिटै उपलब्ध गराउनुपर्छ,’ उनले भने,‘हाम्रो कार्यशैली र उपलब्धि स्पष्ट रूपमा जनताले देख्न पाउनुपर्छ । सरकारको कामलाई पारदर्शी र भ्रष्टाचारमुक्त बनाउन सूचनाको हकलाइ प्रभावकारी कार्यान्वयन गरिनुपर्छ ।’
उनले सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्दै मुख्यमन्त्री कार्यालयबाट सबै कार्यालयमा सूचना अधिकारी तोक्न निर्देशन दिइसकेको बताए ।
सरकारका नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी बनाउँदै जनताको अपेक्षालाई सम्बोधन गर्ने दिशामा काम गर्न सबै सरकारी निकायहरू सचेत हुनुपर्नेमा उनले जोड दिए ।
मुख्यमन्त्री आचार्यले कार्यक्रममा सहभागी सबै अधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति गम्भीर रहन र जनताको हितमा थप सक्रिय हुन निर्देशन दिए ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त सुरेशप्रसाद आचार्यले सूचनाको हकबारे अभिमुखिकरण गरेका थिए ।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij