२०८२ भाद्र २ गते सोमवार
कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव नेपाल पक्षले आज (मंगलबार) आफ्नो छुट्टै कमिटी घोषणा गर्ने भएको छ ।
नेपाल पक्षीय एक नेताका अनुसार भीम रावलको नेतृत्वमा कैलालीको धनगढीमा सोमबारदेखि जारी प्रदेशस्तरीय विस्तारित बैठक समानान्तर कमिटी घोषणा गर्दै आज सम्पन्न हुने भएको हो ।
रावल ओली समूहद्वारा ६ महिनाका लागि पार्टीको साधारण सदस्यताबाटै निलम्बित नेता हुन् । तर उनले त्यसलाई अस्वीकार गरेका छन् ।
रावलसहित माधव नेपाल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि उही कारबाही गरिएको छ । तर नेपाल पक्षले सर्वोच्च अदालतको फैसलबमोजिम एमाले २०७५ जेठ २ को अवस्थामा हुनुपर्ने जिकिर गरेको छ ।
सोहीअनुसार सुदूरपश्चिममा कमिटी कायम गर्ने र त्यसमा रिक्त रहेका स्थानमा नयाँ नेतालाई जिम्मेवारी दिने तयारी नेपाल पक्षले गरेको छ । एक नेताका अनुसार प्रदेशका ९ वटै जिल्लामा जिल्ला बैठक आयोजना गरी कमिटी बनाउन निर्देशन पनि जारी गरिनेछ ।
केही दिनअघि मात्र अध्यक्ष ओली समूहले त्यहाँ नेपाल पक्षमा रहेका जिल्ला पदाधिकारीलाई हटाउँदै आफूपक्षीयलाई जिम्मेवारी दिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij