२०८२ भाद्र ८ गते आइतवार
काठमाडौ । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ९प्रसूतिगृह० मा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण (मेटाबोलिक डिजिज टेस्टिङ)सेवा सुरु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एक कार्यक्रममाझ सेवाको उद्घाटन गरेका छन्। अस्पतालमा आयोजित कार्यक्रममा सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले हेर्दा सानोजस्तो देखिए पनि यो महत्त्वपूर्ण प्रयास भएको उल्लेख गरे।
‘बाल मृत्युदर कम गर्न हामीले धेरै काम गर्न बाँकी छ,’ उनले भने,‘बालबालिकाको मृत्युदर घटाउन र वंशाणुगत रोगको समयमै उपचार गर्नका लागि यो सेवा महत्त्वपूर्ण छ।’
प्रसूतिगृहजस्तो देशमै ख्याति कमाएको अस्पतालमा अरू सेवा पनि विस्तार गर्ने सोच मन्त्रालयको रहेको र यो सुरुवात त्यसैको एक कडी भएको उनले उल्लेख गरे ।
अस्पतालले २० शय्या आइसीयु थप्न लागेको भन्दै मन्त्री पौडेलले जानकारी दिँदै उनले यसबाट अति आवश्यक मातृशिशुका लागि धेरै राहत पुग्ने विश्वास व्यक्त गरे।
मन्त्री पौडेलले अस्पतालमा जनशक्ति पर्याप्त नभएको गुनासो सुनेको भन्दै आफू मन्त्रालय आउनासाथ त्यसको समाधानका लागि प्रयास थालेको र तत्कालका लागि छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई खटाउने बताए।
मन्त्री पौडेलले अस्पतालमा गर्भवती महिलाका लागि मासिक परामर्शसम्बन्धी बहिरंग सेवाको समेत उद्घाटन गरे। उनले भने, ‘मातृशिशुको स्वास्थ्य सुधारका लागि कसरी सेवा बढाउन सकिन्छ हामी लागिरहेका छौँ। सबै क्षेत्र मिलेर मात्र यो सम्भव छ। म यस क्षेत्रमा क्रियाशील सबैलाई सहकार्यका लागि आग्रह गर्दछु।’
मन्त्रालयका सचिव हरि मैनालीले अस्पतालको सेवा मातृशिशु मृत्युदर घटाउन राम्रो थालनी भएको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय तयार रहेको बताए।
अस्पताल निर्देशक डा श्रीप्रसाद अधिकारीले अकाल मृत्युबाट जोगाउने उद्देश्यले हाल परीक्षणका रूपमा सेवा थालेको भन्दै पाँच प्रकारका वंशाणुगत रोगको जन्मनासाथ परीक्षण र उपचार गरिने जानकारी दिए।
देशमा २१ प्रतिहजार नवजात शिशुको मृत्यु दर रहेकामा यस्तो सेवा विस्तार गर्न सकिएमा कम गर्न सकिने उनले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij