२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार गठन गर्ने निर्णय गर्यो । वैकल्पिक सरकार गठनका लागि स्थिति ‘परिपक्व’ भइनसकेको भन्दै आइरहेको कांग्रेसले यस्तो निर्णय त्यत्तिकै गरेको थिएन ।
शुक्रबार केन्द्रीय समिति बैठक बस्नुअघि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरूको छुट्टै छलफल भएको थियो ।
प्रधानमन्त्रीबाट ओलीलाई जसरी पनि हटाउनुपर्ने रणनीतिका साथ अगाडि बढिरहेका पौडेलले सभापति देउवालाई वैकल्पिक सरकार गठन गर्ने विषयमा केन्द्रीय समितिबाट निर्णय गराउन दबाब दिए ।
अन्ततः कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले शुक्रबार अबेर राति प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गर्यो ।
त्यही निर्णय लिएर कांग्रेसका वरिष्ठ नेता पौडेल जसपा अध्यक्ष महन्थ ठाकुरलाई भेट्न आइतबार बिहानै हात्तीवन पुगे । र, त्यसको कारण थियो–सत्तासमीकरणका बारे अलमलमा रहेको जसपासँग समन्वय गर्ने जिम्मा पौडेल आफैंले लिनु ।
कांग्रेस नेताहरूका अनुसार वरिष्ठ नेता पौडेलले वैकल्पिक सरकारबारे पार्टीले निर्णय गरेअनुसार जसपासँग आफूले समन्वय गर्ने जिम्मा लिएका छन् । भेटमा ठाकुरले ‘गठबन्धनका लागि सहयोग माग्ने तर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गर्ने’ पौडेलसामु असन्तुष्टि पोखे ।
ठाकुरको प्रष्ट आशय थियो–सरकारको नेतृत्वतर्फ।
अर्थात्, गठबन्धनकै सरकार बनाउनुपर्दा नेतृत्व जसपाले गर्न पाउनुपर्ने ठाकुरको आशय बुझ्न सार्है कठिन छैन ।
कुनै पनि दल बहुमतमा नरहेकाले नेतृत्वको दावीलाई जसपाका कतिपय नेताहरूले पनि स्वाभाविक नै मानिरहेका छन् ।
केही दिनअघि जसपा नेता राजकिशोर यादवले सधैं अरूलाई सहयोग गरिरहेको आफूहरूले अब सरकारमा नेतृत्वका लागि दावी गर्ने बताएका थिए ।
किन कुहिरोको काग बन्यो जसपा ?
जसपा नेताहरूबाट गठबन्धन सरकारको नेतृत्वबारे आशय व्यक्त भइरहे पनि त्यति सहज भने देखिँदैन। प्रधानमन्त्री ओलीसँग लगातार संवाद गरिरहेका ठाकुरप्रति अध्यक्ष उपेन्द्र यादव सन्तुष्ट देखिएका छैनन् ।
जसपाले उठाइरहेको माग पूरा गर्ने ‘ल्याकत’ प्रधानमन्त्री ओलीसँग नरहेकोले वार्ता र संवादको कुनै अर्थ नै नरहेको यादवको भनाइ छ । माग पूरा भए पनि प्रधानमन्त्री ओलीसँग कुनै पनि हालतमा सहकार्य गर्न नहुने पक्षमा यादव उभिएका छन् ।
अर्कोतर्फ जसपाले सरकारको नेतृत्व सम्हाल्ने अवसर पाउँदासमेत बाटो त्यति सहज छैन । किनभने जसपाभित्र अध्यक्ष ठाकुर र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्रीको दावेदारको रूपमा हेरिएका छन् । र, त्यस्तो अवस्थामा जसपामा आगो नसल्किएला भन्न सकिँदैन ।
सरकारको नेतृत्व वा अन्य दलसँग सहकार्य गर्ने अवस्थामा पार्टीभित्र रडाको मच्चिने सम्भावनालाई नकार्न नसकिने जसपाका एक नेताले बताए। साथै सरकारको नेतृत्वका लागि चर्चा चलिरहे पनि सम्भावना भने कमै रहेको उनको भनाइ छ ।
‘एक त जसपाले सरकारको नेतृत्व पाउने सम्भावना मैले तत्काल देखेको छैन,’ जसपाका ती कार्यकारिणी सदस्य भन्छन्,‘कथमकदाचित त्यस्तो परिस्थिति बने पनि पार्टीभित्र विवाद उत्पन्न हुने निश्चित छ ।’
जसपाले सरकारको नेतृत्व गर्ने पहललाई उनले ‘मनको लड्डु घ्यूसँग खानु’ बाहेक अरू केही नहुने बताए ।
यसअघि संसदको तेस्रो दल रहेको जसपा सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि चौथौं दलमा परिणत भइसकेको छ। प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेको १२१, नेपाली कांग्रेसको ६१, माओवादी केन्द्रको ४९ र जसपाका ३२ सांसद छन् ।
नयाँ सरकार गठनका लागि बहुमतको संख्या १३८ पुर्याउन एमाले वा कांग्रेस–माओवादी गठबन्धनको साथ चाहिन्छ। जसपा जतातिर ढल्किन्छ सरकार त्यही गठबन्धनको बन्ने निश्चित छ ।
त्यसैले अहिलेको राजनीतिक परिदृष्यमा जसपालाई ‘किङ्गमेकर’ को रूपमा पनि हेरिन थालिएको छ ।
महन्थ ठाकुरहरू रेशम चौधरीको रिहाइ, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री ओलीसँग निरन्तर संवाद गरिरहे पनि सत्तासहकार्यबारे जसपाले औपचारिक निर्णय गरिसकेको छैन ।
मन्त्रीका लागि बार्गेनिङ !
निलम्बित सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधनलगायतका माग उठाउँदै सरकारसँग संवाद गरिरहेको जसपा ओली नेतृत्वको सरकारमा सहभागिताका लागि मन्त्रीको ‘बार्गेनिङ’ तर्फ केन्द्रित भएको छ ।
माग पूरा गर्ने आश्वासन दिँदै आइरहेका प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा सहकार्य गर्न आग्रह गरिरहेका छन् । सरकारमा सहकार्यको सहमति जुटे प्रधानमन्त्री ओली ८ देखि १० वटा मन्त्रालय जसपालाई दिन तयार रहेको जसपाका ती नेताले बताए ।
‘प्रधानमन्त्रीज्यू जसपालाई प्रधानमन्त्रीबाहेक रोजे अनुसारको अरू सबै मन्त्रालय दिन तयार हुनुहुन्छ,’ ती नेताले भने,‘दुबै पक्षबीच यस विषयमा लगभग सहमति पनि भइसकेको छ ।’
प्रधानमन्त्री ओलीसँग मन्त्रालयबारे सहमति जुटिसकेकोले वैकल्पिक सरकारका लागि अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरू तयार हुनसक्ने अवस्था कमै रहेको उनको तर्क छ ।
‘उहाँहरू धेरै अगाडि बढिसक्नु भएको छ, अब ‘ब्याक’ हुने सम्भावना कमै देखिन्छ,’ उनले भने,‘ओली नेतृत्वकै सरकारमा सहभागी भए पार्टीका लागि ठीक नहुनपनि सक्छ ।’
यद्यपि सरकारसँग निरन्तर वार्ता गरिरहेका जसपा नेता लक्ष्मणलाल कर्ण भने सत्तासहकार्यको विषयमा आफूहरूको छलफल अझै प्रवेश नगरेको दावी गर्छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij