काठमाडौं । आज राजीनामा दिने तयारी गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको करीव २ घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल बाहिरिने सम्भावना कम भएको छ ।
प्रधानमन्त्रीसँगको छलफलपछि राजीनामा दिने नदिने टुंगो लाग्नेछ । ‘राजीनामा पत्र बोकेर आएका छौं,’ एक मन्त्रीले भने, ‘अहिले प्रधानमन्त्रीसँग छलफलमै छौं ।’
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने आजै राजीनामा दिने बताएका छन् । त्यसअघि मन्त्रीहरूले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।
नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्ने तयारी गरेका छन् ।
एमाले सरकारबाट बाहिरिएपछि सत्ता गठबन्धनका दुई ठूला दल माओवादी केन्द्र र रास्वापका शीर्ष नेताबीचको भेटले तत्काल रास्वपा सरकारबाट नबाहिरिने सम्भावना बढेको उनले बताए ।
