२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । जारी आइसीसी टी–२० विश्वकपअन्तर्गत आज दुई खेल हुँदैछन् ।
आज समूह ‘सी’ अन्तर्गत वेस्ट इन्डिज र न्युजील्यान्डस् खेल्दै छन् । ट्रीनीडाडको ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार विहान ६ः१५ बजेदेखि सुरु हुनेछ ।
वेस्ट इन्डिजले जारी विश्वकपका आफ्ना सुरुका दुवै खेलमा जित हासिल गरेर ४ अंक बटुलेको छ । वेस्ट इन्डिजले युगान्डा र पिएनजीलाई पराजित गरेको थियो । त्यस्तै न्युजील्यान्डले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग हार बेहोरेर खराब सुरुवात गरेको छ ।
वेस्ट इन्डिज र न्यूजील्यान्ड्सबीच अहिलेसम्म कुल १९ टी–२० खेल भएका छन् । जसमा न्यूजील्यान्डले ११ खेल जितेको छ भने वेस्ट इन्डिजले ६ खेल जितेको छ । त्यस्तै २ खेल बिना नतिजा सकिएका छन् ।
त्यस्तै आज अर्को खेल समूह ‘डी’ अन्तर्गत बंगलादेश र नेदरल्यान्ड्सबीच हुँदैछ । सेन्ट भिसेन्टस्थित अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।
दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । यस अघि दुवैले खेलेका २–२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्यान्ड्सले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।
यस समूहबाट दक्षिण अफ्रिकाले ३ खेलमा तीनै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलंकाले ३ खेलमा २ हार र एक नेपालसँगको खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ । श्रीलंकाको यस विश्वकपमा सुपर ८ को सम्भावना लगभग सकिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij