२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । जारी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछ । आज पहिलो खेल समूह ‘डी’ अन्तर्गत नेपाल र श्रीलंकाबीच हुँदैछ ।
अमेरिकाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल बिहान ५ः१५ बजेदेखि सुरु हुँदैछ ।
नेपालले यस विश्वकपमा पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो । नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।
त्यस्तै श्रीलंकाले भने यस विश्वकपमा लगातार दुई खेलमा हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग र दोस्रो खेलमा बंगलादेशसँग हार बेहोरेको थियो ।
समुह डी मा नेपाल र श्रीलंकाका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस समुहमा दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक हासिल गरेको छ र सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ त्यस्तै बंगलादेशले २ खेलमा एक जित र एक हारसहित २ अंक हासिल गरेको छ ।
त्यस्तै आज दोस्रो खेल समूह ‘बी’ अन्तर्गतको अस्ट्रेलिया र नामिबियाबीच हुँदैछ । एन्टीगास्थित सर भिभियन रिचाड्र्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ः१५ बजेदेखि सुरु हुँदैछ । जारी विश्वकपमा अस्ट्रेलियाले लगातार दुवै खेल जितेको छ भने नामिबियाले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
त्यस्तै आज तेस्रो खेल समूह ‘ए’ अन्तर्गतको अमेरिका र भारतबीच हुँदैछ । न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि सुरु हुँदैछ ।
जारी विश्वकपमा अमेरिका र भारत दुवैले आफ्ना दुवै खेलमा जित हासिल गरेर ४–४ अंक हासिल गरेका छन् । भारत रनरेटका आधारमा समूह ‘ए’ मा शीर्ष स्थानमा छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij