२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । क्रिकेट खेलाडीहरूको हौसलाका लागि भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठकमा उपस्थित भएका छन् । उनीहरूले विवादास्पद झुकेको नेपालको राष्ट्रिय झण्डा अंकित टिसर्ट लगाएर उक्त बैठकमा उपस्थित भएका हुन् ।
आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा आज (मंगलबार) राति नेपाल र नेदरल्यान्ड्सबिच खेल हुँदैछ । दुई देशको खेल अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेयरी रंगशालामा राति ९ः१५ बजे सुरु हुनेछ ।
उक्त खेलमा सहभागी हुन नेपाली खेलाडीहरू त्यहाँ पुगिसकेका छन् । खेलाडीलाई राम्रोसँग खेल प्रदर्शन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले समेत शुभकामना सन्देश दिएका छन् ।
यता नेपाली क्रिकेट टोलीको हौसलाका लागि भन्दै रास्वपाका सांसदहरूले अत्यन्तै विवादास्पद टिसर्ट लगाएर संसदमा उपस्थित भएका छन् । केल्मी नेपालले उत्पादन गरेको नेपालको राष्ट्रिय झण्डा अंकित टिसर्ट यसअघि विवादमा तानिएको थियो ।
केल्मीले यसअघि क्रिकेट खेलाडीका लागि भन्दै झुकेको झण्डा अंकित टिसर्ट तयार पारेको थियो । झुकेको झण्डा अंकित टिसर्ट खेलाडीले पहिरिएको तस्बिर बाहिरिएकै दिन विवादमा परेको थियो ।
तर, केल्मी नेपालले उक्त गल्ती हालसम्म सच्याएको छैन । बरु उसले अहिलेसम्म पनि धमाधम झुकेको झण्डा अंकित टिसर्ट उत्पादन तथा वितरण गरिरहेको छ ।
रास्वपा सांसदहरू प्रायः गरिमामय संसदमा राष्ट्रिय पोशाक लगाउँदैनन् । उनीहरू डेटिङ र छाडा पहिरणमा उपस्थित भएका हुन्छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij