२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । बिहान ११ बजे बस्नेगरी तय भएको प्रतिनिधिसभाको बैठक आजै दिउँसो २ बजेका लागि सारिएको छ ।
प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणबस तोकिएको समयमा बैठक बस्न नसकेपछि समय परिवर्तन गरिएको जानकारी दिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाउँदै आएको सहकारीको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा दलहरू सहमत भए पनि समितिको कार्यादेश टुङ्गो लाग्न सकेको छैन ।
छानबिन समितिको कार्यादेशबारे अहिले दलहरुबीच छलफल चलिरहेको छ ।
आजै बसेको प्रतिपक्षी दलहरुको बैठकले छानबिन समिति गठन गर्ने र त्यसपछि मात्रै संसद्को कार्यसूची अघि बढ्न दिने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गर्ने र त्यसको कार्यादेश टुङ्गो लागेपछि संसद्को कार्यसूची अघि बढ्ने बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij