२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । संसदमा उत्पन्न अवरोध अन्त्य गर्न शीर्ष राजनीतिक तहमा आज पनि छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतासँग आज बिहान छलफल गरेका छन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज दिउँसो प्रधानमन्त्री दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेतासँग छलफल गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीसँगको भेटपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमतिका आधारमा निकास खोज्न प्रधानमन्त्री दाहाल सकारात्मक भएको बताए ।
हरेक जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रममा छलफल गरेर पारित गर्नुपर्ने भएकाले संसदमा प्रतिनिधित्व गरेका दलहरुलाई सहमति जुटाउन दबाब परेको छ ।
सहकारीको रकम दुरुपयोगका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले सङ्घीय संसद्का दुवै सदनका बैठकमा लगातार अवरोध गर्दै आएको छ ।
शुक्रबारको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी कांग्रेसको आग्रहमा सभामुख घिमिरेले आइतबारका लागि सार्नुभएको थियोभने राष्ट्रियसभाको बैठक गत वैशाख २८ गते सुरु भएको चालु अधिवेशनको पहिलो दिनदेखि नै विपक्षीले अवरोध गर्दै आएको छ ।
यही जेठ १ गतेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा राष्ट्रपतिप्रति कृतज्ञता ज्ञापन गर्ने संसदीय परम्परा पनि अवरुद्ध भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij