२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र कांग्रेसका शीर्ष नेताहरूबीच छलफल भएको हो ।
संसद्को गतिरोध अन्त्यका लागि उनीहरूबीच छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिए ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको भन्दै उनी उपर छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ ।
आज (शनिबार) बिहान भएको छलफलमा पनि कांग्रेसले संसदीय समिति गठन गर्नुपर्ने माग राखेको छ । उसले उक्त समिति गठन नभए संसद्लाई गति दिन नसक्ने समेत अडान राखेको छ ।
कांग्रेसले यहीँ निहुँमा पटक–पटक संसद् अवरुद्ध पार्दैै आएको छ । कांग्रेसले गरेको मागप्रति प्रधानमन्त्री सकारात्मक भएको पार्टी प्रमुख सचेतक रमेश लेखकले बताए ।
‘उहाँ (प्रधानमन्त्री)ले कांग्रेसको मागप्रति आफू सकारात्मक भएको कुरा राख्नु भएको छ । यसबारे उहाँले सत्ता गठबन्धन दलहरूसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताउनु भएको छ,’ लेखकले भने ।
छलफलमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महासचिव गगनकुमार थापा, नेताहरू कृष्णप्रसाद सिटौला र रमेश लेखक सहभागी थिए ।
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक भोलि (आइतबार)का लागि आह्वान गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij