२०८२ कार्तिक २३ गते आइतवार
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत लिँदैछन् । उक्त प्रयोजनाका लागि आज (बिहीबार) अपरान्ह ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
कँडेलले विश्वासको मत लिनुअघि सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाएका थिए ।
सहमतिअनुसार नेकपा (माओवादी केन्द्र)ले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ ।
एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ ।
मन्त्रालय भागबन्डा टुंगिए पनि मन्त्री भने टुंगिसकेको छैन । बुधबार माओवादी केन्द्रले रणसिंह परियारलाई सरकारमा पठाएको थियो । उनलाई मुख्यमन्त्री कँडेलले विना विभागीय मन्त्री बनाएका छन् । उनले बुधबार नै सपथ लिइसकेका छन् ।
४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका १ सांसद छन् । नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सांसदको समर्थन चाहिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij