२०८२ कार्तिक २३ गते आइतवार
काठमाडौं । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुने भएको छ । आज (बुधबार) अपरान्हसम्म मन्त्रिपरिषद् विस्तार हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका नेकपा (एमाले) संसदीय दलका नेता यमलाल कँडेलले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । उनी मुख्यमन्त्री भएको झन्डै दुई सातापछि मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले कँडेल नेतृत्वको मन्त्रिपरिषदमा तत्काल एक जना मन्त्री पठाउन लागेको छ । माओवादी केन्द्र संसदीय दलको बैठकले हुम्लाका रणसिंह परियारलाई सरकारमा पठाउने भएको छ ।
यद्यपि उनलाई कुन मन्त्रालयको जिम्मा दिने भन्ने विषय हालसम्म टुंगो नलागेको माओवादी केन्द्र सुर्खेतले बतायो । माओवादी केन्द्रबाटै मन्त्रीको आकांक्षीमा महेन्द्र केसी, दुर्ग रावत, बिन्दमान बिष्ट र वीरबहादुर शाही छन् । मन्त्रीको टुङ्गो लगाउने जिम्मा भने संसदीय दलका नेता राजकुमार शर्मालाई दिइएको छ ।
त्यस्तै मुख्यमन्त्री यमलाल कँडेलले भोलि (बिहीबार) विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत लिए पश्चात् पार्टीबाट धमाधम मन्त्री सिफारिस गर्ने एमाले सुर्खेतले बताएको छ । एमालेबाट विनोद शाह, टेकराज पछाई, शेरबहादुर बुढा, दक्षिणा शाही वा गोमता विक मन्त्री बन्ने लाइनमा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij