Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल यसरी परे धरापमा,यस्तो बन्यो हट्ने अंकगणित 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल यसरी परे धरापमा,यस्तो बन्यो हट्ने अंकगणित 


  • 9.9K
    Shares

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल यसरी परे धरापमा,यस्तो बन्यो हट्ने अंकगणित 
    images

    काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएपछि कर्णाली प्रदेशमा आएको पराकम्पको असर लुम्बिनी प्रदेशसम्म पनि झर्ने खतरा बढेको छ ।

    एमाले र माओवादी केन्द्रबीचको सत्ता समीकरणमा मुख्यमन्त्री बनेका शंकर पोखरेल पछिल्लो समय संकटमा छन् ।

    कर्णालीमा एमालेले विश्वासको मत फिर्ता लिएपछि माओवादी नेतृत्वको सरकार धर्मराएको अवस्थामा छिमेकी प्रदेश लुम्बिनीमा माओवादीले सरकारलाई लामो समय टेको दिइराख्ने देखिँदैन । 

    नेकपा एकीकृत छँदा पूर्व माओवादी खेमाका केही सांसदको समेत समर्थनमा बलियो बनेका मुख्यमन्त्री शंकर पोखरेल एमाले र माओवादी ब्युँतिएपछि माओवादीको समर्थन पाइराख्ने वा अन्य कुनै दलको समर्थन लिनुपर्ने बाध्यात्मक अवस्थामा छन् ।

    दुई मन्त्रीसहित प्रदेश सरकारमा रहेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन बाँकी छ । माओवादीले संघ (केन्द्र) मा बन्ने समीकरण अनुसार प्रदेश सरकारलाई दिएको सत्ताको टेकोलाई जुनसुकै समयमा छाडिदिन सक्छ । त्यसमाथि कपिलवस्तुबाट निर्वाचित एमाले सांसद विष्णु पन्थी र पाल्पाकी समानुपातिक सांसद रमा घर्ती एमाले (खनाल–नेपाल पक्ष)को राष्ट्रिय भेलामा सहभागी भएपछि मुख्यमन्त्री पोखरेललाई थप क्षति हुने देखिन्छ ।

    माओवादीका गुल्मीबाट निर्वाचित सांसद दिनेश पन्थी र रुपन्देहीबाट निर्वाचित दधिराम न्यौपाने एमालेमा लागे पनि निर्णायक अवस्था आउँदा माओवादीले सांसद पदबाटै हटाइदिन सक्छ, सोही कारण उनीहरूको दुई मतको भर परेर बस्ने अवस्था छैन ।

    त्यहीँ संकट देखेर पोखरेलले जनता समाजवादी पार्टी (जसपा) मिलेर सरकार चलाउन छलफललाई तीव्रता दिएका छन् । लुम्बिनीमा ‘किङमेकर’ जसपा छ । केन्द्रमा जस्तै लुम्बिनीमा पनि जसपाविना सरकार नै नबन्ने अवस्था आउनसक्छ । जसपाको साथ पाएमा मुख्यमन्त्री शंकर पोखरेलले सरकार जोगाउन सक्छन् भने माओवादी, कांग्रेस र जसपा मिलेर पनि सरकार बन्न सक्छ ।

    एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल सहितका सत्तापक्षका नेताहरू जसपासँग निरन्तर संवादमा रहे पनि त्यसले निश्चित आकार भने लिन सकेको छैन ।

    उता, कांग्रेस पनि आफ्नो नेतृत्वमा सरकार बनाउने अभियानमा छ । कांग्रेस प्रमुख सचेतक फखरुद्धिन खाँनको संयोजकत्वमा कार्यदल नै गठन गरेर माओवादी र जसपासँग छलफलमा छ । के, लुम्बिनीमा शंकर पोखरेललाई हटाएर अन्य दल सम्मिलित सरकार बन्ला त ? 

    कांग्रेस सांसद फखरउद्धिन खाँनले लुम्बिनी एमालेबाहेक तीन दलको सरकार बन्ने बलियो सम्भावना रहेको बताए । ‘हामीले माओवादी र जसपासँग निरन्तर छलफल गरिरहेका छौं,’ खाँनले भने, ‘माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले छलफलले औपचारिकता पाउन सकेको छैन । जसपा हामीसँग नजिक छ । एमाले बाहेकको गठबन्धन बनाएर सरकार बनाउन यहाँ गाह्रो छैन ।’ 

    प्रमुख प्रतिपक्षी कांग्रेसलाई आफ्नो नेतृत्वमा प्रदेश सरकार बनाउने रहर छ । 

    ‘प्रमुख प्रतिपक्ष वेटिङ गभर्मेन्ट हो नि १ एमाले बाहेकको सरकार बने नेतृत्वको दाबी स्वाभाविक रूपमा कांग्रेसको हो, तर खुला छलफल गर्न हामी तयार छौं ।’ खाँनले  भने । 

    ८७ सदस्यीय प्रदेशसभामा एमालेका ४१, माओवादीका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । सरकारका लागि ४४ सांसद आवश्यक पर्छ ।

    अहिले मुख्यमन्त्रीसँग ३९ सांसद छन् । एमालेपछिको दोस्रो शक्ति माओवादी र तेस्रोमा कांग्रेस छ । यसले सरकारको नेतृत्व कसले गर्ने भन्नेमा पनि विवाद हुन सक्छ । 

    उता जसपाले एमालेसँग सत्ता समीकरण गर्नुपर्ने अवस्था आए प्रदेशमा तीन महत्त्वपूर्ण मन्त्रालय दिनुपर्ने शर्त अगाडि सारेको छ । प्रदेशका झण्डै आधा बजेट हेर्ने मन्त्रालय भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र अन्तरिक मामिला तथा कानून मन्त्रालय आफूहरूलाई दिनुपर्ने माग जसपाको छ । तर यी तीनवटै मन्त्रालय दिने देखिन्न ।

    जसपा प्रमुख सचेतक सन्तोष पाण्डेयले जसको नेतृत्वमा प्रदेश सरकार बने पनि आफूहरूको सम्मानजनक उपस्थिति हुनुपर्ने माग राखे । ‘हामी कांग्रेस र एमालेसँग निरन्तर छलफलमा छौं । जुन दलले सम्मानजनक उपस्थिति दिन्छ, त्यहीँ दलको नेतृत्वमा सरकारमा सहभागी हुन्छौं ।’

    जसपा सरकारमा जान खुट्टा उचालेर बसेको छ । प्रदेशमा संघले जुनसुकै दलसँग मिलेर सरकार बनाए पनि संघले हस्तक्षेप गर्न नहुने जसपा प्रदेश कमिटीले पार्टी केन्द्रसँग माग गर्दै आएको छ ।

    एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशमा मुख्यमन्त्री पोखरेल जतिको योग्य र क्षमतावान नेता कुनै पनि नभएकाले पोखरेल नेतृत्वकै सरकार निरन्तर अगाडि बढने बताए ।

    ‘प्रदेशको समृद्धिको नेतृत्वकर्ता मुख्यमन्त्री पोखरेल हो । उहाँ जतिको सक्षम, क्षमतावान र योग्य नेता प्रदेशमा छैनन् । यो सरकारको विकल्प खोज्न आवश्यक पनि छैन । यही सरकार अगाडि बढ्छ,’ ढकालले  भने । 
    पोखरेल राष्ट्रिय राजनीतिमा समेत राम्रो प्रभाव भएको नेता हुन् ।

    माओवादीका सचेतक पार्वती पुनले नयाँ सत्ता समीकरण र अगामी रणनीतिबारे १र२ दिनभित्रै निर्णय लिइने बताइन् । प्रदेशको बजेट अधिवेशन अन्त्य भएको यही चैत २० गते ६ महिना पुग्दैछ । २० गतेभित्र अधिवेशन शुरू गर्नैपर्ने संवैधानिक बाध्यता छ ।

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - १४:१२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij