२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठक हिजै सम्पन्न भएको छ । मंगलबार साँझ शितलनिवासमा बसेको सर्वदलीय बैठकको सुरुवातमा राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी थिईन् । उनले वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै सबै दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिएकी थिईन् । बैठकमा सहभागी राप्रपाका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले जनाएअनुसार सुरुमा राष्ट्रपति भण्डारीले मुुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरू बीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकी थिईन् ।
उनकाअनुसार राष्ट्रपति भण्डारीले सम्बोधन गरेपछि बैठकमा तीन मिनेटसम्म सन्नाटा छाएको थियो । नेताहरु सबै चुपचाप बसेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अब म बोल्छु भन्दै सम्बोधन गरेका थिए । उनले फेरि पनि ताजा जनादेशमा जानुको विकल्प नरहेको भन्दै पुनःस्थापित प्रतिनिधिसभाले शुरुकै दिनदेखि काम गर्न नसक्ने संकेत देखिइसकेको बताएका थिए । प्रधानमन्त्रीले फेरि पनि संसद् विघटन गर्ने चेतावनी दिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिजस्तो साझा व्यक्तिलाई विवादमा पार्न नहुने भन्दै आफूले यहाँ थप केही पनि नबोल्ने टिप्पणी गरेका थिए । त्यसपछि दाहालले थप केही पनि बोलेका थिएनन् ।
त्यसपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बोलेका थिए । उनले राष्ट्रपतिको भूमिकामाथि आलोचना गरेका थिए । उनले राष्ट्रपति भण्डारीले संविधानअनुसार काम गर्न नसकेको भन्दै उनको भूमिकाको आलोचना गरेका थिए । पौडेलले संसद सुचारु गर्नेबाहेक अरु विकल्प नरहेको भन्दै यस्तो पहल राष्ट्रपतिले पहिले नै लिनुपर्ने बताएका थिए । अहिले प्रधानमन्त्रीले लिनुपर्ने पहल नलिएको पौडेलको आरोप थियो । पौडेलपछि चित्रबहादुर केसी बोलेका थिए । उनले अहिलेको समस्याको समाधान संसदबाटै हुने धारणा राखेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij