२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुनेतर्फ घटनाक्रमहरू गइरहेको बताएका छन् ।
केन्द्रीय सदस्य र सांसदहरूका लागि मंगलवार बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधि सभा किन विघटन भएको थियो भन्ने कुरा पुष्टि हुन लागेको बताएका हुन् ।
‘प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुनेतिर जाँदैछ । मुद्दा लडेर ल्याएको संसद् आफैँले चल्न नदिने, आफैँ व्यवधान खडा गर्ने स्थिति बन्यो । पहिलो दिन नै अध्यादेशहरू पेश गर्न दिइएन,’ ओलीले भने, ‘अधिवेशन प्रारम्भ भएको पहिलो बैठकमै अध्यादेश पेश हुनुपर्छ, अर्थात संविधान कार्यान्वयन गर्न व्यवधान खडा गरियो ।'
उनले सरकारले संवैधानिक दायित्व पूरा गर्न नपाएको बताए ।
'कार्यसूची बदलेर सभामुखले मन्त्रीलाई रोकेर, फेरि एक छिनमा अर्को दिनलाई सर्यो भने । संवैधानिक दायित्व पनि सरकारले पूरा गर्न पाएन,’ ओलीले भने ।
उता मंगलबार बसेको प्रतिनिधिसभा बैठक पूर्वसांसद दिनेशचन्द्र यादवको निधनप्रति शोक प्रस्ताव पारित गर्दै चैत ६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो ।
२०७० सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका संविधानसभा सदस्य यादवको १ माघमा ७५ वर्षको उमेरमा निधन भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij