२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रका चार नेतालाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ । आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी र प्रभु साहलाई स्थायी कमिटीमा मनोनित गरेको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज तोकेका छन् ।
असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए ।
३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष तथा विष्णु पौडेल महासचिव बने । नेकपामा बामदेवलाई उपाध्यक्ष मनोनित गरिएको थियो ।
५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन भएसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो । यसको आधिकारिकता विवाद नटुंगिँदै २३ फागुनमा सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताउने फैसला सुनायो ।
त्यसको पाँच दिनपछि एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका छन् ।
साथै पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली तोकिएका छन् भने बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल नियुक्त गरेका ओली समूहका एक नेताले जानकारी दिए ।
बादल समूहका नेताहरुलाई एमालेको केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय पनि भएको छ । साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा ओलीतिर लागेका बादलसहितका नेताहरु माओवादी केन्द्र फर्किएका थिएनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij