२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि पनि पार्टी एकताको सम्भावना भएको भन्दै एमालेको माधव नेपाल पक्षलाई ‘पिन्च’ हुने काम नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बुटवलमा आयोजित कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘कुनै पनि जिल्लाका हाम्रा गतिविधिले माथि माधवजीहरूलाई पिन्च नहोस् । किनकी, त्यसको ठूलो अर्थ छ । त्यो एमाले अब त्यही स्थितिमा एक रहने स्थिति नै छैन ।’
एमालेभित्र रहेर संघर्ष गर्ने र फेरि पनि एकताको प्रस्ताव गर्ने समझदारी बनेको भन्दै प्रचण्डले माधव नेपाल नजिकका मान्छेलाई तानेर पार्टीमा घुसाउन नहुने बताए। ‘माधवजीसँग नजिक भएका मान्छेलाई तानेर हाम्रोभित्र घुसाइाल्छु भन्ने तिर नलाग्नुहोला,’ प्रचण्ड निर्देशन छ, ‘किनभने अहिले त्यसो गर्न आवश्यक छैन । स्वयं माधव जी, झलनाथ जीसँग हाम्रो सहकार्य गरिराख्ने, उहाँले त्यहाँ भित्र संघर्ष गर्ने । फेरि, एकताको प्रस्ताव राख्ने, फेरि एकतातिर नै हामी जानुपर्छ भन्ने छ ।’
संसद विघटनयता माधव नेपाल पक्षसँग आफूहरुको राजनीतिक र भावनात्मक सम्बन्ध बनेको भन्दै प्रचण्डले केन्द्रमा नसोधी केही पनि निर्णय नगर्न कार्यकर्ताहरूलाई निर्देशन दिए।
‘अझ खासगरी पुस ५ पछि संसद विघटनको प्रस्ताव राखिसकेपछि माधवजी र हाम्रोबीचमा जस्तो वैचारिक, राजनीतिक, भावनात्मक सम्बन्ध भयो, त्यो धेरै माथि उठ्दै थियो,’ प्रचण्डले भने, ‘यसलाई फेरि एकतातिर नै लैजानुपर्छ भन्ने माधवजीहरू प्रष्ट भएको हुनाले पूर्वएमालेसँग जिम्मेवार कमरेडहरू हामीले त फेरि फर्केर एमालेमा जान्नौं भन्नु भयो भने पनि तपाईंहरूले एकचोटी हेडक्वाटरसँग सम्पर्क गरेर मात्रै के गर्ने भन्ने टुंग्याउनु होला । आफै नटुंग्याउनु होला ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij