२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सधैँ राष्ट्रिय सहमतिमा जोड दिएको बताएका छन् ।
देशलाई स्थिरता, स्थायित्वका साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुको विकल्प नरहेको उल्लेख गर्दै उनले त्यसका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्ने प्रयास आफूले गरिरहेको बताए ।
आज आइतवार ललितपुरको भैँसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको निवास उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले प्रदेश र पालिकाका जनप्रतिनिधिहरूले पनि आफ्नो क्षेत्रमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि बढाउने विश्वाससमेत व्यक्त गरे ।
उनले भने, ‘प्रदेश र पालिकाका जनप्रतिनिधिहरूले पनि आ–आफ्नो कार्यक्षेत्रभित्र सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रालाई अगाडि बढाउनेमा म विश्वास व्यक्त गर्न चाहन्छु । यो पटक हामीलाई स्थिरता, स्थायित्वका साथै समृद्धिको र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प हामी छैन । मैले यो पक्षमा एउटा समझदारी बनाएर, राष्ट्रिय सहमति बनाएर अगाडि जाने प्रयास गर्दै आएको छु । हामी बिस्तारै बिस्तारै नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र सिस्टममा चल्ने, विधि विधानमा चल्ने राष्ट्रको रूपमा विश्वसामु चिनाउनेछौँ भनेर पनि म विश्वास गर्छु ।’
प्रधानमन्त्री प्रचण्डले प्रदेशको काम कारबाहीलाई अझ बढी प्रभावकारी बनाउन पनि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको निवास उपयोगी हुने विश्वास व्यक्त गरे सङ्घीयतामाथि प्रश्न उठाउनेहरूलाई पनि यो निवास निर्माणले बलियो जवाफ दिएको उल्लेख गर्दै उनले सङ्घीयताको संस्थागत विकासमा पनि यसले योगदान पुर्याएको जिकिर गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij