Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सत्ताबाहिर बस्नुपर्दा ओलीजीलाई छटपटी भएको छ: प्रधानमन्त्री प्रचण्ड

सत्ताबाहिर बस्नुपर्दा ओलीजीलाई छटपटी भएको छ: प्रधानमन्त्री प्रचण्ड


  • 2.7K
    Shares

    सत्ताबाहिर बस्नुपर्दा ओलीजीलाई छटपटी भएको छ: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ । नेकपा एमालेले संसद अवरुद्ध गरेर सत्ता बाहिर बस्नुपर्दाको छटपटी प्रस्तुत गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

    आइतबार केही पदाधिकारी र पार्टीका मन्त्रीहरुसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले अहिले सरकारले सबै पक्षलाई मिलाएर देशमा सुशासन स्थापना गराई छाड्ने बताए।

    ‘एमाले र अध्यक्ष केपीजीलाई अहिले सत्ता बाहिर बस्नु परेकोमा पीडा भएको छ, यो एक किसिमको छटपटी हो,’ बैठकमा प्रचण्डले राखेको धारणा उद्धृत गर्दै एकजना पदाधिकारीले भने, ‘सरकारले इमान्दारीसाथ काम गरेको जनतालाई महसुस भइरहेको छ।’

    माओवादी केन्दका अध्यक्ष समेत रहेका प्रचण्डले निरन्तर संसद अवरुद्ध हुँदा जनताका समस्यामाथि छलफल गर्न नपाएको बताए। आइतबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई नालायक र अयोग्य भनेका थिए।

    यस्तो अयोग्य सरकारको नेतृत्वमा बसिरहनु भन्दा प्रचण्डले आफैं राजीनामा दिएर बाहिरिनु राम्रो हुने उनले बताएका थिए। ओलीले सुन तस्करी, ललिता निवास काण्डदेखि जनजीविकाका मुद्दा पनि सम्बोधन गर्न यो असफल भएको दाबी गरेका थिए।

    उनले आफ्ना मन्त्रीहरुलाई इमान्दारी पूर्वक काम गर्न सुझाव दिए। ‘देशका यावत समस्या समाधान हामीले नै गर्नुपर्छ, सबै मन्त्रीहरु त्यसमा दत्तचित्त भएर लाग्नुहोला,’ प्रधानमन्त्रीले भने।

    बैठकले पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। अब उक्त मन्त्रालय जनमत पार्टीकी अनितादेवी साहलाई दिइने भएको छ। बैठकमा मोदी स्वयम् सहभागी थिए।

    ‘अहिले गठबन्धनमै रहेको जनमतलाई सरकारमा ल्याउनुपर्ने भयो, यो सहकार्यको संस्कृति हामीले नै अघि बढाएका छौँ, यसपटक माओवादीले पाएका कुनै मन्त्रालय छोड्नुपर्‍यो,’ प्रधानमन्त्री प्रचण्डले भने।

    प्रकाशित मिति :श्रावण २८ २०८० आइतवार - १७:२०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij