२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम नलिने बताएका छन्। आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर काम अगाडि बढाइरहेको बताए।
गृहमन्त्री श्रेष्ठले देशको समृद्धिको लक्ष्य हासिल गर्ने पूर्वशर्त सुशासन भएको भन्दै सरकारको अभियानले विश्राम नलिने बताएका हुन्। निर्दोष नफसुन् र दोषी नछुटुन् भन्ने मान्यता अख्तियार गरिएको बताउँदै मन्त्री श्रेष्ठले धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुँदैन भन्ने कुरामा ध्यानाकर्षण गराए।
‘सरकार प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउन, टुंगोमा पुर्याउन दृढ छ। सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर हामी अगाडि बढाइराखेका छौँ। सुशासनको सन्दर्भमा सम्पूर्ण देश र माननीयज्युहरुले समर्थन व्यक्त गरेका छन् ।
यो अभियानले विश्राम लिने छैन। समृद्धिको लक्ष्य हासिल गर्न सुशासन पूर्वसर्त भएको कुरालाई आत्मसात गरेका छौँ’, उनले भने, ‘हामी अझै पनि अगाडि बढ्छौँ। निर्दोष नफसुन् र दोषी, अपराधी नछुटुन् भन्ने मान्यता अख्तियार गरेका छौँ।’ उनले प्रहरी समायोजन प्रक्रिया अगाडि बढाएर टुंगोमा पुर्याउन सरकार दृढ रहेको पनि बताएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij