२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल पार्टीको विधान प्रमाणीकरण गर्ने अन्तिम तयारीमा पुगेको छ । गत असार १० देखि १२ गतेसम्म सम्पन्न विधान अधिवेशनमा विधानको मस्यौदामाथि छलफल भई त्यसलाई प्रमाणीकरण गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा समिति बनेको थियो । उक्त समितिले विधानमाथि छलफल गरी अन्तिम रूप दिने तयारी गरिरहेको छ ।
समितिका सदस्य एवम् जसपाका नेता दीपेन्द्र झाले अधिवेशनमा विधानको मस्यौदाबारे आएको लिखित र मौखिक सुझावको बारेमा अध्ययन गर्ने काम सकिएको बताए । यही महिनाभित्र विधानलाई पूर्णता दिई प्रमाणीकरण गरेर कार्यान्वयनमा ल्याइने उनले बताए ।
‘विधानका मुख्य विषयमा आएका सुझावका बारेमा अध्ययन गर्ने काम सकिएको छ, त्यसलाई विधानमा कसरी समावेश गराउन भन्ने विषयमा एक दिन बैठक बसेर टुगों लगाउने तयारी छ’ उनले भने, ‘सम्भवत: साउनदेखि विधानलाई कार्यान्वयनमा ल्याउने गरी काम सम्पन्न हुँदै छ ।’
जसपा स्रोतका अनुसार विधान अधिवेशनमा सङ्घीय परिषद्, ७० वर्षको उमेर हद, राष्ट्रिय समिति, केन्द्रीय समिति सदस्यको सङ्ख्या, महिलालाई आरक्षण लगायतका विषयमा नेताहरूले सुझाव दिएका थिए । सोही सुझावका विषयमा अध्ययन भएको र केही दिनमै टुगों लगाउने गरी पार्टीमा छलफल भइरहेको झाले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij