२०८२ भाद्र ३ गते मंगलवार
रुपन्देही । पार्टी निर्माण अभियानमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आजदेखि रुपन्देहीको भैरहवामा सुरु हुने भएको छ ।
रास्वपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भैरहवामा दुईदिने प्रशिक्षण सुरु हुने पार्टीले आज बिहान पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पार्टीका अन्य नेताहरु आज आउने भएपनि केन्द्रीय सभापति लामिछाने भने भोलि शनिबार मात्रै आउने कार्यक्रम रहेको छ ।
भैरहवास्थित एसियन बुद्ध होटल हुने कार्यक्रममा पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, प्रवक्ता डा. मुकुल ढकाल, सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य मनिष झा, शिशिर खनाललगायत नेताहरुले प्रशिक्षण दिनेछन् ।
‘शुक्रबार र शनिबार सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा मुलुकलाई कसरी आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ र यसमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने, रास्वपा लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले बताए । उनले समयअनुसार जनताको माग सम्बोधन गर्न नसक्ने पार्टी हराउने बताए । जनताको अपेक्षा सम्बोधन गर्ने पार्टी मात्रै अगाडि बढ्न सक्ने उनले दावी गरे ।
रास्वपा लुम्बिनी प्रदेशका महामन्त्री निलराज अधिकारीले पार्टी स्थापना भएको छोटो समयमा जनताको मन जितेको र पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रमले सहयोग पुर्याउने बताए ।
प्रशिक्षण कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सदस्यहरु, विभाग सदस्यहरु, निर्वाचन क्षेत्र संयोजक र पालिका सभापतिहरुको उपस्थिति रहने पाठकले बताए । प्रशिक्षण कार्यक्रमको शुक्रबार दिउँसो १२: ३० बजे रास्वपाका केन्द्रीय उपसभापति डीपी अर्यालले उद्घाटन गर्ने कार्यक्रम रहेको पाठकले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij