२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । सर्वोच्च अदालतले फागुन ११ गते मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि राजनीतिको निर्णायक शक्ति कांग्रेस सभापति शेरबहादुर देउवाको हातमा पुगेको छ।
संसदमा १७३ सांसद भएको नेकपा कानूनी रुपमा मात्रै विभाजित हुन बाँकी रहे पनि कांग्रेसको समर्थन विना अर्को सरकार बन्न सक्ने स्थिति प्रतिनिधिसभामा लगभग छैन।
अहिलेसम्म नेकपामा दाहाल नेपालसँग ८७ र ओली पक्षसँग ८३ जना सांसद छन्। बाँकी तीन जनामध्ये इलामकी सानु शिवाको निधन भएको छ भने वामदेव गौतम पत्नी तुलसी थापा र लालबाबु पण्डितको आज सम्म कित्ता क्लिएर भएको छैन। लालबाबुले कांग्रेसलाई सत्ता दिन नहुने सार्वजनिक रुपमै बताई सकेका छन्।
भावी सरकारको सहकार्यका लागि नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले बुधबार निवासमै पुगेर देउवालाई प्रस्ताव गरेका छन्। उता नेकपाको ओली पक्षले पनि सत्ता सहकार्यका लागि देउवासँग निरन्तर संवाद गर्दै आएको चर्चा राजनीतिक वृत्तमा छ।
नेकपाको दुवै पक्षले एकले अर्कालाई सत्ता बाहिर राखेर आउँदो चुनावमा जाने रणनीति लिएको अवस्थामा कसले पहिला प्रधानमन्त्रीको प्रस्ताव गर्लान् भन्ने ‘दाउ’ मा सभापति देउवा रहेको कांग्रेसका नेताहरु बताउँछन्।
तर नेकपाको प्रचण्ड नेपाल पक्षले ओली समूहबाट कम्तिमा १९ जना सांसद ल्याएको अवस्थामा ३४ सिट भएको जसपासँग मिलेर बहुमतको सरकार बनाउन सक्ने संभावना जिवितै छ।
जसका कारण देउवा तत्काल सरकार गठनबारे ठोस निर्णय लिने पक्षमा नरहेको उनी निकट एक नेताले बताए। ती नेताले भने, ‘कांग्रेसले तत्काल निर्णय गर्दैन। नेकपाभित्रको चलखेल र परिस्थितलाई हेरेर निर्णय लिन्छ।’
ओली खेमा र कांग्रेससमेत प्रतिपक्षमा पुग्नसक्ने प्रतिनिधिसभाको अंक गणित छ। त्यसका लागि दाहाल नेपालले ठोस पहल थालिसकेको सूचना देउवाले पाइसकेका छन्।
भावी रणनीतिबारे छलफल गर्न सभापति देउवाले बिहीबार दिउँसो ३ बजे आफ्नै निवासमा पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएका छन्। उक्त बैठकले केन्द्रीय कार्यसमितिको बैठक बोलाउने संभावना छ।
उता दाहाल नेपालले बिहीबार बिहान जसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठसँग छलफल गरेका छन्। नेकपा पार्टी कार्यालय पेरिसडाँडामा भएको छलफलमा दाहाल नेपालले सत्ता सहकार्यका लागि प्रस्ताव गरिसकेका छन्।
देउवालाई रोक्न पार्टीभित्र कसरत
घुमिफिरी शेरबहादुर देउवाको हातमा पाँचौँपटक प्रधानमन्त्री हुने परिस्थिति बन्दै जाँदा उनलाई जसरी पनि रोक्नुपर्ने पक्षमा कांग्रेसको संस्थापन इतर समूह लागेको छ।
देउवा प्रधानमन्त्री वा कांग्रेस सत्ता साझेदार मात्रै भएको अवस्थामा पनि आउँदो भदौमा हुने महाधिवेशनमा जित्न बल पुग्ने निष्कर्ष वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष, कृष्णप्रसाद सिटौला र शेखर कोइराला पक्षीय नेताहरुको छ।
नेकपा विभाजित भएर चुनावका गएको अवस्थामा चुनावपछि कांग्रेस ठूलो दल बन्ने र नेतृत्वको हिसाबले फेरि स्वभाविक रुपमा देउवा नै प्रधानमन्त्री बन्ने अवस्थामा समकालीन बाँकी सबै नेताको भविष्य सकिने विश्लेषण गर्दै उनीहरु ‘आतंकित’ बनेका छन् ।
त्यसो हुँदा सकेसम्म कांग्रेस सरकारमै जान हुँदैन भन्ने मत स्थापित गर्ने, विश्वास अविश्वासको मतमा भोटिङ हुँदा कतै पनि नलाग्ने जस्ता रणनीति संस्थापन इतर समूहले बनाएको छ।
नेताहरु गगन थापा र शेखर काइरालाले कांग्रेस सरकारमा जान नहुने सार्वजनिक रुपमै बताउन थालेका छन्। स्रोतका अनुसार वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाले देउवालाई संसदीय दलको नेताबाट हटाउनेसम्म छलफल गरेका छन्।
तर ६३ सदस्यीय संसदीय दलमा तीन वर्ष अघि चुनाव हुँदा देउवाले नेता प्रकाशमान सिंहलाई २८ मतले पराजित गरेका थिए। देउवाले ४४ मत पाएका थिए भने सिंहले १९ मत मात्रै पाए।
केन्द्रीय कार्यसमिति र संसदीय दलमा बहुमत भन्दा माथि रहेका देउवालाई रोक्न सकिने संभावना कम रहेको पौडेल पक्षीय नेताहरु नै स्वीकार गर्छन्। एक नेताले भने, ‘कोसिस हुन्छ। तर पार्टी र दलको अंकगणित देउवाले जे चाह्यो त्यही निर्णय हुने स्थितमा छ।’
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij