२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले एउटा सार्वजनिक कार्यक्रममा फ्याट भनिदिए- "ज्योतिषीले मलाई सात पटक प्रधानमन्त्री बन्छन् भन्या छन् ।" त्यसपछि देउवाको खोइरो खन्ने काम उधुम संग भयो। अहिलेका प्रधानमन्त्री केपी ओलीले त कांग्रेसको अन्तिम प्रधानमन्त्री देउवा भनेर छेड नै हाने । तर अहिले प्रकारान्तरले ओली पछिको प्रधानमन्त्री देउवा हुने लक्षण देखिन थालेको छ ।
देउवालाई सात पटक प्रधानमन्त्री हुने भनेर ठोकुवा गर्ने ज्योतिष को हुन् त ? ज्योतिषको नाम देउवाले पनि खुलाएका थिएनन् । चौतर्फी खोजी भएपछि अन्तत ति ज्योतिषको नाम सार्वजनिक भयो। उनी रहेछन् दक्षिण एसियाली महासंघ नेपालका महासचिवसमेत रहेका ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल ।
ज्योतिष रिजाल भन्छन, "ग्रहदशा बलियो छ देउवाको । हामीले ग्रह, राशी र नक्षत्रबाट क्यालकुलेसन गर्ने हो । यसले स्पष्ट देखाउँछ । चैतसम्ममा देउवा प्रधानमन्त्री बन्नुहुने योग छ ।"
यो रह्यो ज्योतिषको कुरा । देउवाले पक्कै पत्याइहाल्नेछन् । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली त स्वर्ग र नर्कको कुरा गर्ने मुलुकमा काँग्रेसका सभापतिले ज्योतिषीको कुरा नपत्याउन किन ?
राशीमा देउवा बलियो भएको उनको तर्क थियो ।
उनका अनुसार देउवाको कुम्भ राशीका हुन् । यो राशि ज्यादै बलवान भएर आएको उनले सुनाए। ओली मकर राशीका हुन् । जुन राशी अहिले कमजोर हुँदै आएको उनको दावी छ ।
यतिमात्र होइन, देउवालाई आरजु राणाको राशीको समेत साथ रहेको दाबी ज्योतिष रिजालले पेश गरे । "देउवालाई मिसेसको ग्रहले पनि केही सपोर्ट गर्छ। आरजु मेष राशीकी हुन् ।"
देउवाको प्रधानमन्त्री हुने योग कात्तिकबाट शुरु भएर चैतको नवरात्रीसम्म रहेको भन्दै उनले टाइलाइन नै पेश गरे।
"कातिक १ बाट शुरु भयो योग। चैतको नवरात्रीभित्र देशले नयाँ प्रधानमन्त्री पाउने देखिन्छ," उनी थप ढुक्क देखिए । र, देउवा प्रधानमन्त्री भएमा देशलाई राम्रो हुने तर्क पनि उनले सुनाए ।
शनिको साढे सात लागिरहेको छ ओलीलाई । ओली र प्रचण्डको राशी योग पनि मिल्दैन । प्रचण्डको मिथुन र ओलीको मकर राशी भएकोले यस्तो भएको हो ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij