२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको टिप्पणी गरेका छन् । सोही कारण उनी समाजवादी मोर्चामा नआएको आफ्नो बुझाइ रहेको यादवको भनाइ छ ।
यादवकै अनिच्छाका कारण भट्टराई मोर्चामा सहभागी नभएको टिप्पणी भई रहेको बेला बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यादवबाट यस्तो धारणा आएको हो ।
समाजवादी मोर्चा गठनका लागि भएको छलफलमा भट्टराई कहिले पनि उपस्थित नभएको उनले जिकिर गरे । मोर्चा गठनमा भट्टराईको कुनै योगदान नरहेको दाबी गरे । उनले भट्टराई कसरी छुटे भन्नेबारे उनलाई नै थाहा हुने कुरा भएको प्रतिक्रिया समेत दिए ।
मोर्चामा रहेका कुनै दलबीच एकीकरण हुन सक्ने भएपनि मोर्चा नै दलको रुपमा भने नआउने यादवले स्पष्ट पारे । उनले साझा मुद्दामा मोर्चाले काम गर्ने पनि बताए ।
पत्रकार सम्मेलनका क्रममा यादवले असार १० गते पार्टीको विधान अधिवेशन सुरु हुने जानकारी गराए । तीन दिनसम्म चल्ने अधिवेशनमा एक हजार प्रतिनिधि सहभागी हुने यादवले जानकारी गराए । पार्टीको विधान मस्यौदा तयार भइसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij