२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । बागमती प्रदेशमा पछिल्लो एक वर्षमा डेंगुका कारण ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ । डेंगुका बिरामी सबैभन्दा बढी काठमाडौंमा १४ हजार पाँच सय फेला परेको थियो ।
सबैभन्दा कम रसुवामा रहेको बागमती प्रदेशका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डारविन भुसालले जानकारी दिए । बुधबार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रदेशका पाँच जिल्लामा डेंगुसम्बन्धी अध्ययनको निष्कर्ष सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका जुनियर इन्टोमोलोजिस्ट दीपककुमार साहले अध्ययनको निष्कर्षबारे प्रस्तुति दिँदै १० चैत ०७९ देखि १८ वैशाख ०८० सम्म अध्ययन गरिएका पाँच सय ४७ घरधुरीमा एक हजार ६ सय २३ पानी भएका भाँडा निरीक्षण गरिएकोमा एक सय ३३ घरधुरीका एक सय ७० पानी भएका भाँडामा डेंगुु फैलाउने लामखुट्टेका जीवाणु भेटिएको बताए ।
अध्ययनअनुसार डेंगु फैलाउने लामखुट्टेका जीवाणु सबैभन्दा बढी टायरमा भेटिएको थियो भने दोस्रोमा खानेपानी ट्यांकीमा पाइएको थियो । त्यस्तै, पानीका जार, पानी भरेर राखिएका ड्रम, पानीका बोतल, गमला, रेफ्रिजेरेटरलगायतमा पनि फैलाउने लामखुट्टेका जीवाणु पाइएको छ । फेला परेकामध्ये आठ सय ४५ एडिस एजिप्टाई छ ।
घरबाहिर रहेका पानी जम्ने भाँडा र ठाउँमा डेंगु फैलाउने लामखुट्टेका जीवाणु पाइन्छ भन्ने आमधारणाविपरीत घरभित्र भएका पानीका भाँडा र रेफ्रिजेरेटरमा पनि डेंगुको जीवाणु पाइनुले सचेत बढी हुनुपर्ने अवस्था देखिएको अध्ययनकर्ताको भनाइ छ ।
कार्यक्रममा मन्त्रालयका निमित्त सचिव दीपक तिवारी, स्वास्थ्य निर्देशनालय हेटौँडाका निर्देशक महेश्वर श्रेष्ठ, लगायतको अध्ययनले डेंगु रोगको प्रभाव र यसविरुद्ध चाल्नुपर्ने कदमजस्ता क्षेत्रमा नीतिगत र कार्यान्वयन तहमा काम गर्न आधार मिल्ने बताएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij