२०८२ माघ ११ गते आइतवार
काठमाडौँ । विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदमुक्त गर्न माग गरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय मंगलबार बदर गरिदिएको थियो ।
विवेकशील साझाले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेको छ । तर राजीनामा नदिएको खण्डमा महाअभियोग लगाएर भएपनि राष्ट्रपति भण्डारीलाई पदमुक्त गर्नुपर्ने विवेकशील साझाको माग छ।
‘संविधानको रक्षा गर्ने दायित्वलाई रतिभर ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई रबर स्ट्याम्प सरह सदर गर्दै साथ दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनु पर्दछ’ विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अन्यथा राष्ट्रपति पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर भण्डारीलाई पदमुक्त गर्न संसद्मा रहेका सम्पूर्ण दल र सांसदहरूलाई हामी आह्वान गर्दछौँ ।’
पछिल्ला राजनीतिक घटनाक्रममा भण्डारीको भूमिका र नेपालको राष्ट्रपति संस्थाको आजसम्मको अभ्यासको गम्भीर पुनरावलोकन गर्दा राजनीतिक दलमा असम्बद्ध व्यक्तिले मात्र उक्त पदको गरिमा र अपेक्षित मर्यादा अक्षुण्ण राख्न सक्ने स्पष्ट देखिएको विवेकशील साझा पार्टीले बताएको छ ।
साथै विवेकशील साझाले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ ।
विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी संसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नका लागि राजीनामा दिनुपर्ने साझा पार्टीको धारणा छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij