२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री ओलीलाई नैतिकताका आधारमा तत्काल राजीनामा दिन सुझाएका छन् ।
चितवनमा रहेका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले कार्यकर्ता भेला गर्दै प्रचण्डले भने 'तपाईंले चालेका गलत कदमका कारणले जनतामा २ महिनासम्म ठूलो पीडा र आवेग उत्पन्न भयो,' प्रचण्डले ओलीतर्फ इंगित गर्दै भने, 'अलिकति पनि नैतिकता र लाज छ भने राजीनामा दिनुस् । होइन भने तपाईंलाई इतिहासको कुडाकर्कटमा मिल्क्याइने छ ।'
उनले चितवनमा बुधवार हुने भनिएको विरोध सभा विजय प्रदर्शनका रूपमा हुने बताए । देशभर रहेका आफ्ना नेता तथा कार्यकर्तालाई प्रचण्डले जो जहाँ छ त्यहीं विजय र्याली गर्न अनुरोधसमेत गरे ।
प्रचण्डले सदन विघटन गर्ने कदमलाई अलोकतान्त्रिक र असंवैधानिक भन्ने सबै दल र कार्यकर्तालाई समेत धन्यवाद दिए । 'अब सहमति गरेर नै अगाडि जानेछौं,' प्रचण्डले भने, 'हामी कुर्चीको निम्ति लडेका होइनौं । संविधानका निम्ति लडेका हौँ ।'
सर्वोच्च अदालतको संबैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुस ५ गते विघटित प्रतिनिधिसभा पुनर्स्थापना गरी १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली सरकारमाथि नैतिक संकट परेको छ।
प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै अब प्रधानमन्त्री ओली नेतृत्वको सरकारको विकल्प अब संसदबाटै खोज्नुपर्ने भएको छ । सर्वोच्चको फैसला आएलगत्तै ओलीको राजीनामा माग्दै सामाजिक सञ्जालमा चर्को बहस हुन थालेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाउँदै १३ दिनभित्रै बैठक बोलाउन आदेश दिएसँगै ओली सरकारमाथि नैतिक संकट परेको हो ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij