२०८२ पौष ११ गते शुक्रवार
काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिकाले काठमाडौंमा बस्ने पालिकावासीसंग सल्लाह सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम जेठ २० गते शनिबार सम्पन्न भएको छ। बालाजु स्थित सगुन क्याफेमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८०/८१को बजेटको प्रभावकारी कार्यान्वयन कसरी गर्ने र पालिकाको विकास समृद्धिमा पालिकावासीहरूको भूमिकालाई कसरी समेट्ने भन्नेबारे एक दिने छलफल गरेको हो ।
गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले कार्यक्रमको उद्घाटन गर्दै पालिकाले काठमाडौँमै आएर सङ्घसंस्था तथा पालिकावासीहरूसँग सल्लाह सुझाव तथा अन्तरक्रिया आयोजना गरेकोमा पालिकाको प्रशंसा गर्दै कार्यक्रमबाट आएका सुझावहरूको उचित कार्यान्वयन गर्न समेत पालिकालाई आग्रह गरे। स्थानीय सरकारको ध्यान निरन्तरता भन्दा पनि क्रमभंगता तिर जानुपर्ने उनले बताए । स्थानीय सरकारले अब बजेट विनियोजन गर्दा मेघा प्रोजेक्टमा लगानी गर्नुपर्नेमा धितालले जोड दिए।
राष्ट्रियसभा सदस्य कमला पन्तले उक्त कार्यक्रममा बोल्दै उपयुक्त समयमा कार्यक्रम राखेकोमा धन्यवाद दिइन। साथै पन्तले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनसमेत आग्रह गरिन। पन्तले स्थानीय सरकारको पालिकाभित्र उत्पादन भएका वस्तुहरूको बजारीकरणमा ध्यान दिए उत्पादनमा वृद्धि हुने जिकिर गर्दै पालिकाको अबको त्यसतर्फ ध्यान जानुपर्ने बताइन्।
यस्तै प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाँईले नेपालमा सबैभन्दा ठुलो चुनौती भनेको स्थानीय उत्पादनको बजारीकरण र आयात प्रतिस्थापन गर्नु रहेको बताए। गाउँघरमा बढ्दै गएको बसाइसराइ रोक्नु स्थानीय सरकारहरूको चुनौती रहेकोसमेत उनले बताए।
कार्यक्रमका सभापति तथा गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले गाउँपालिकाले पालिकाको समग्र विकासमा सहयोग पुग्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको र कार्यक्रमबाट आएको सल्लाह सुझावलाई पालीकाले गम्भीरताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
पालिकाकी उपाध्यक्ष ललिता अधिकारीले कार्यक्रममा स्वागत मन्तव्य राख्दै पालिकाको समृद्धिका लागि सम्पूर्ण जनप्रतिनिधिहरूको ध्यान केन्द्रित रहेको निर्वाचित भएको एक वर्षभित्रमा अपेक्षाकृत कामहरू गरिएको र यो कार्यक्रमले पालिकाको समृद्धिका लागि कोशेढुंगा सावित हुने बताइन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij