२०८२ भाद्र ७ गते शनिवार
नागार्जुन साहित्यिक प्रतिष्ठानद्वारा प्रत्येक महिनाको तेस्रो शनिवार आयोजना हुने सुप्रभात काव्य गोष्ठी यही ज्येष्ठ २० गते शनिवार सुसम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा सम्पन्न उक्त रचना वाचन तथा समीक्षात्मक टिप्पणी कार्यक्रमको प्रमुख अतिथि थिए- त्रि•वि• केन्द्रीय क्याम्पस नेपाली विभागका विभागीय प्रमुख प्रा•डा• खगेन्द्रप्रसाद लुइटेल ।
सो कार्यक्रममा दिल पौडेलले 'भीमानको सालिक', युवराज नास्तिकले 'हल्गौँडी', माधव घिमिरे 'अटल'ले 'माली' तथा गङ्गाप्रसाद भेटवालले 'मङ्गलेको चिन्ता' शीर्षकीय रचना वाचन गरेका थिए ।
त्यसैगरी शिवहरि पाण्डेले ' राय बाझिएको माझीको मुद्दा', नवीन पल्लवले 'छुई हुने मान्छे हुँ म' शीर्षकीय सुसेली, लीलाराज दाहालले 'तिमी फूल बन्यौ, म त पातमात्र' गजल, सुवास देवकोटाले 'लडाईं हो यो', डा•रामकृष्ण आचार्यले 'अचानोको पीर', सुनिल पुरीले 'काँस जस्तो गाउँ', लक्ष्मणदेव पाण्डेले 'आऊ मिलेर खाऔं', ठाकुरदेव खड्काले 'भत्किँदै गएको सपना' शीर्षकीय सिर्जना सुनाएका थिए ।
त्यसरी नै गोपालकृष्ण अधिकारीले 'सङ्घीयताको आगमन', भेषेन्द्रकुमार अर्यालले 'हिसाब शून्य वा एक', अशोक गुरूङले 'देश बेच्ने मास्नेलाई' शीर्षकका रचना वाचन गरेका थिए ।
झन्डै दुई दर्जनको सङ्ख्यामा उपस्थित कविहरूमध्ये आफ्नो गरिमामय उपस्थिति मात्र जनाउने कविहरू थिए- ईश्वरप्रसाद आचार्य, केशव घिमिरे तथा किरण खनाल ।
वाचित रचनामाथि तिखो तथा समसामयिक टिप्पणी गर्दै प्रा• डा• खगेन्द्रप्रसाद लुइटेलले सिर्जनालाई तीन भागमा विभक्त गरे- बनिसकेका कविता, बन्नै लागेका कविता र बनाउन अझै पर्याप्त मेहनत गर्नुपर्ने कविता । प्रत्येक सिर्जनामाथि खरो, निर्मम तथा सटीक समीक्षा गर्दै लुइटेलले काव्य विधामाथि रहेका भ्रम चिर्ने सार्थक यत्न गरेका थिए । उनले उल्लेख्य समय 'नेपाली भाषा बचाऔं' अभियानमा लाग्दा भोग्नुपरेका कठिनाइ तथा प्राप्त उपलब्धिबारे कोण-प्रतिकोणबाट व्याख्या, विमर्श गर्नमा खर्चिए । मूलतः राज्यसारथिमाथि बच्छ्यूँझैँ खनिएका उनको राजनीतिक नेतृत्वविरूद्ध मात्र असन्तुष्टि थिएन बरू शैक्षिक उपाधि भिरेर भाषा-संस्कृतिमाथि छुरा प्रहार गर्ने हिंस्रक प्रवृत्तिप्रति कटाक्ष थियो । करिब अढाइ घण्टा विषयान्तर गरेका लुइटेल सरकारले गाडीमा राखेका र राख्ने भनिएका इम्बोस्ड नम्बरमाथि पनि जाइलागे । सूचना बेचेर महल उभ्याउने अनाचारी प्रवृत्तिको समेत उनले हुर्मत लिन भ्याए ।
अन्तमा आगामी कार्यक्रम असारको १६ गते, शनिवार बिहान ७:३० बजे सोही स्थलमा आयोजना हुने सविनय अवगत गराउँदै अध्यक्ष दिल पौडेलले रचना वाचन तथा समीक्षात्मक टिप्पणी कार्यक्रमको बिट मारे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij