२०८२ भाद्र २ गते सोमवार
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको मूल्यसूची अनुसार शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको हो । बजेट सार्वजनिक भएयता अर्थात जेठ १५ गतेपछि चार दिनमा सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले बढेको छ ।
यसअघि सुनमा मूल्यको आधारमा नभई परिमाणको आधारमा सरकारले भन्सार लगाउँदै आएको थियो। जसमा प्रति १० ग्राम सुनमा ८ हजार ५ सय रुपैयाँ भन्सार तोकिएको थियो । अब नयाँ व्यवस्था अनुसार प्रति केजी सुनको मूल्य जति पर्छ त्यसको १५ प्रतिशत भन्सार दर लाग्ने व्यवस्था गरिएको छ ।
सरकारको नयाँ व्यवस्थाअनुसार अब भन्सार शुल्क सुनको मूल्य बढ्दा बढ्छ र घट्दा शुल्क पनि घट्छ । सरकारले भन्सारदर वृद्धि गरेका कारण सुनको मूल्यमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।
अन्तर्राष्ट्रिय मूल्य अस्थिर भएको कारण सुनको भाउ कतिसम्म पुग्छ भन्ने अनुमान गर्न कठिन रहेको उनी बताउँछन् । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्दा १९ सय डलरमा झर्ने अनुमान गरिएको छ भने बढ्यो भने २१ सय डलरसम्म पुग्ने देखिन्छ ।
उनले भने, “सुनको भाउ बढेको खण्डमा यसअघिको भन्सारदरका आधारमा करिब १ लाख १५ हजार पुग्ने र अहिलेको भन्सारदर अनुसार प्रतितोला १ लाख २० हजार रुपैयाँसम्म पुग्ने सक्ने अनुमान छ ।”
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij