२०८२ भाद्र ३ गते मंगलवार
सल्यान । बिजुलीको तार सर्ट हुँदा सल्यानमा एक घर जलेर नष्ट भएको छ । जिल्लाको कपुरकोट गाउँपालिका ३ का काले विकको खरले छाएको दुई कोठे घर जलेर नष्ट भएको हो ।
आगलागीबाट घरमा भएका लत्ताकपडा, खाद्यान्न, भाडाकुडालगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए । आइतबार दिउँसो साढे १२ बजे लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा झन्डै एक घन्टापछि निभाइएको उनले जनाए । उनका अनुसार आगलागी हुँदा कति रकम बराबरको क्षति भएको भन्ने एकीन भइसकेको छैन ।
अहिले प्रहरी टोलीले घटनास्थलमा मुचुल्का उठाइरहेको उनले बताए । आगलागीबाट घर जलेर नष्ट भएपछि पीडित परिवार अहिले आफन्तको शरणमा छन् । विकका परिवारलाई क्षतिको अवस्था हेरेर तत्काल राहत उपलब्ध गराउने कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी गराए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij