Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

कति सुरक्षित छ नेपालमा अनुमति पाएको चिनियाँ खोप ? यी हुन् विशेषता

कति सुरक्षित छ नेपालमा अनुमति पाएको चिनियाँ खोप ? यी हुन् विशेषता


  • 6.9K
    Shares

    कति सुरक्षित छ नेपालमा अनुमति पाएको चिनियाँ खोप ? यी हुन् विशेषता
    images

    काठमाडौं । चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरो सेल’ खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । यो खोप बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकलबाट अनुसन्धान तथा विकास भएको हो । चीन सरकारले नेपाललाई ५ लाख डोज खोप सहयोगस्वरूप प्रदान गर्ने घोषणा गरेको छ । यो खोप ४ हप्ताको अन्तरालमा २ पटक लगाउनुपर्दछ । तसर्थ यो खोप २ लाख ५० हजार जनालाई दिन सकिन्छ ।

    कस्तो हो त यो चिनियाँ खोप ?

    चीनको सिनोफार्मले विकास गरेको खोप निस्क्रिय कोरोना भाइरसबाट बानाइएको खोप हो । युएईमा भएको अध्ययनअनुसार यो खोपको प्रभावकारिता ८६ प्रतिशत रहेको छ । यसको तेस्रो चरणको क्लिनिकल ट्र्याल युएईमा १२५ देशका ३१ हजार स्वयंसेवकमा गरिएको थियो । यो अध्ययनमा १५ देखि ६० वर्षका व्यक्तिलाई समावेश गरिएको थियो र २८ दिनको अन्तरमा २ मात्रा खोप लगाइएको थियो । यो खोप लगाएका व्यक्तिलाई सामान्य प्रतिअसर मात्र देखिएको थियो ।

    यो खोपलाई चीन, युएई, बहराइन, इजिप्ट र जोर्डन, पेरु, अर्जेन्टिना, मोरक्कोलगायत देशले आपतकालीन प्रयोगका लागि अनुमति दिइएका छन्  । हालसम्म १० देशमा यो खोप लगाउने क्रम चलिरहेको छ भने विश्वमा धेरै देशले खोपको माग गरेका छन् । चीनमा यो खोप करीब १ करोडभन्दा धेरै व्यक्तिलाई लगाइएको छ । यो खोप १८ वर्षदेखि ६० वर्षसम्मका व्यक्तिलाई लगाउन सुरक्षित छ ।


    यसको मूल्य कति छ ?

    यो खोप अलि महंगो छ । शुरूमा दुई मात्राका लागि १४५ अमेरिकी डलर राखिएको यो खोपको नेपालमा प्रति डोज करीब ८ हजार पर्न सक्ने देखिन्छ । अल्पविकसित देशका लागि केही छूट हुने चीन सरकारले जनाएको छ ।

    यो खोप कसरी बनाइएको छ  ?

    खोप विकास गर्दा निम्न लिखित ५ वटा चरण पार गर्नुपर्ने हुन्छ । 

    भाइरसको प्रजाति, कोष र प्रतोरोधात्मक शक्तिको अधिग्रहण अध्ययन

    उत्पादन प्रविधि अध्ययन
    गुणस्तर अध्ययन
    जनावरमा प्रयोग
    मान्छेमा प्रयोग
    मान्छेमा प्रयोगको ३ वटा चरण पार गर्नुपर्ने हुन्छ ।​

    खोपकोविकासभएपछि निम्न लिखित मापदण्ड पुरा गर्नुपर्दछ।

    सूरक्षित (Safety )
    प्रभावकारी ( Effectiveness )
    उपलब्धता ( Accessibility )
    किन्ने पहुँच ( Affordability )
    चिस्यानमैत्री ( Cold chain friendly )
    उत्पादन क्षमता ( Large capacity for mass vaccination)
    यो खोप निष्क्रिय भाइरसलाई प्रयोग गरेर परम्परागत विधिबाट बनाइएको हो जसरी पोलियो लगायतका धेरै खोप बनाइएको छ । स्थापित विधिबाट उत्पादन भएकाले यो सुरक्षित रहेको कम्पनीको दाबी छ ।

     १ करोडभन्दा धेरै जनालाई यो खोप लगाउँदा कुनै पनि गम्भीर असर नदेखिएको खोप उत्पादक सिनोफार्मले जनाएको छ । सामान्य असरका रूपमा खोप लगाएको ठाउँमा दुख्ने, टाउको दुख्ने, शरीर दुख्ने, ज्वरो आउने लगायत हुन्छ ।​

    सिनोफार्मले यो वर्षको अन्त्यसम्म १ अर्ब डोज खोप उत्पादन गर्ने दाबी गरेको छ । यो खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण तथा परिवहन गर्न मिल्छ ।

    यो खोपमा के-के तत्व छन् ?

    यो खोपको मुख्य घातक भनेको निष्क्रिय कोरोना भाइरस हो । यसलाई संरक्षण गर्नका लागि तथा रासायनिक प्रक्रिया कायम राख्नका लागि डाइसोडियम हाइड्रोजन फोस्फेट, सोडियम क्लोराइड, सोडियम डाइहाइड्रोजेन फोस्फेट र अल्मुनियम हाइड्रोक्साइड मिलाइएको छ ।​

    अन्त्यमा

    चीनको सिनोफार्मले विकास गरेको यो कोभिड खोप अन्य खोपजस्तै सुरक्षित र प्रभावकारी देखिएको छ । विज्ञान, प्रविधि तथा अनुसन्धानमा चीनले ठूलो फड्को मारेको छ । तसर्थ चीनको उत्पादन भनेर डर मान्नु वा अविश्वास गर्नु पर्दैन । यो खोप ठूलो अनुसन्धान र प्रयोगबाट उत्पादन भएको हो । औषधि व्यवस्था विभागले सम्पूर्ण तथ्यांक तथा सामग्री प्राप्त गरेर मात्र आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको छ ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - १४:५२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij