२०८२ भाद्र ७ गते शनिवार
विविध विधाका झन्डै एक दर्जन कृति प्रकाशित गरेका कृतिकार हरिसिंह थापाको पछिल्लो कथासङ्ग्रह 'मेलिनाको डायरी' यही चैत्र २८गते मङ्गलबार नेपाल प्रज्ञाप्रतिष्ठानमा सार्वजनिक गरिएको छ ।
सङ्ग्रहको सार्वजनिकीकरण समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै भाषा आयोगका अध्यक्ष डा• गोपाल ठाकुरले एउटा गीत गाउँदै कर्मले नै मान्छे महान् हुने भन्दै हरिसिंह थापाको लेखन कर्मको प्रशंसा गरे । भाषणलाई भन्दा कामलाई महत्त्व दिन सुझाउँदै आफूहरूले भाषालाई विलोपीकरण हुन नदिने वाचा गरे । भाषा लोप हुनु भनेको संस्कृति, संस्कार, रीतिरिवाजलगायत धेरै कुरा सकिनु हो भन्दै थापालाई लेखनी निरन्तरताको शुभकामना टक्र्याए ।
त्यसैगरी प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव डा• धनप्रसाद सुवेदीले हरिसिंह थापाको भूगोलतिर आफूले युवा वयमा काम गरेको बताउँदै एकपटक एक स्थानीयले हिँड्दै गर्दा बाटोमा बाघ रहेको जानकारी दिएका तर आफू कुनै पनि मूल्यमा त्यही बाटो जानुपर्ने भएकाले डराइडराइ कुलेलम ठोकेको किन्तु बाघसँग जम्काभेट भने नभएको अतीतको संस्मरण सुनाए । त्यतैको भूगोलमा गाविस सचिवका रूपमा कार्यरत रहँदा एउटा उपन्यास 'सानो भुल भयङ्कर अपराध' लेखेको उनको कथन थियो । कथासङ्ग्रहबारे सीधा टिप्पणी नगरी उनले सामाजिक यथार्थलाई टपक्क टिपेर राख्न सके अहिले सामान्य लागे पनि यो भन्दा पचास वर्ष, सय वर्ष वा पाँच सय वर्ष पछि समकालीन समाजबारे कृतिले दिने जानकारी अनमोल हुने बताए ।
त्यसैगरी साहित्यिक पत्रकार महासंघका महासचिव चेतनाथ धमलाले थापाको व्यक्तित्व र कृतित्वबारे आफ्ना गहन धारणा अभिव्यक्त गरे । कथाकार हरिसिंह थापाले मीठो गजल वाचन गर्दै उपस्थित साहित्यानुरागी व्यक्तित्वहरूलाई मन्त्रमुग्ध पारे ।
नेपाली साहित्य विकास परिषद नेपाल च्याप्टरकी सचिव तथा कार्यक्रमकी अध्यक्ष डा• रेणुका सोलुले कथासङ्ग्रहभित्र सङ्गृहीत चौध वटै कथाको साङ्गोपाङ्ग शल्यक्रिया गरिन् । मनहरि थापाले सहजीकरण गरी बिट मारेको सो कार्यक्रममा प्राज्ञ बाबा बस्नेतलगायतका मञ्चासीन अतिथिहरूले पनि आआफ्ना मन्तव्य राखेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij