२०८२ भाद्र ३ गते मंगलवार
नेपाली कांग्रेस परित्याग गरेका अर्थविद डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएका छन्।
वाग्लेले बिहीबार रास्वपाको सदस्यता लिएका हुन्। यसअघि बिहीबार दिउँसो मात्रै उनले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका थिए। वाग्ले रास्वपाबाट तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचन लड्ने तयारीमा छन्।
उनलाई वैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनको टिकट केही दिनमै दिने निर्णय रास्वपाले गर्ने भएको छ। वाग्लेले कांग्रेस छाडेसँगै बिहीबार अपरान्ह रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुसँग छलफल गरेका थिए।
त्यसपछि डिजिटल फर्म भरेर पार्टी सदस्यका आवेदन दिएका थिए। आवेदन परेको केहीबेरमै उनलाई रास्वपाले सदस्यता दिएको हो। कांग्रेसमा संस्थापन इतरनिकट वाग्लेले सभापति शेरबहादुर देउवा र पत्नी आरजुकको हेपाहा व्यवहारका कारण पार्टी छाड्नुपरेको बताएका थिए। उनी गत मंसिर ४ कै निर्वाचनमा उम्मेदवार हुन तयार थिए।
तर पार्टीले टिकट नदिएपछि असन्तुष्ट उनले रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली भएको तनहुँ एकको प्रतिनिधिसभा सिटका लागि लड्ने गरी रास्वपाको यात्रा थालेका हुन्। उनले सामाजिक सञ्जालमा समेत लेखेर कांग्रेस छाडेको घोषणा गरे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij