२०८२ भाद्र २ गते सोमवार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने दाबी गरेका छन्।
द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा प्रवेश गरेपछि माओवादी धारका नेताहरु एकै ठाउँ आइपुगेका बेला उनले यस्तो बताएका हुन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले समाजवादी केन्द्रकै जगमा कम्युनिस्ट एकताको पहल गरिने पनि बताएका छन्।
शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले पहिला समाजवादी मोर्चा बनाएर त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताको बहस सुरू गरिने बताए।
'जनयुद्ध र जनआन्दोलनका मुद्धा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन', उनले भने, 'शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ।' उनले एकताका लागि माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच छलफल भइरहेको बताए।
'शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ', उनले भने,'भोलि संयुक्त अपील गर्दैछौँ, पत्रकार सम्मलेन गर्दछौँ। केही दिनमा समाजवादी मोर्चा बन्छ।'
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij