२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री तथा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भावी राष्ट्रपतिका लागि लिएर आज निर्णायक बार्ता हुने भएको छ ।
राष्ट्रपति उम्मेदवारका विषयमा कांग्रेसको पहलमा तत्कालीन पाँच दलीय गठबन्धन ब्युँताउने प्रयास भइरहेका बेला प्रचण्ड र ओलीबीच निर्णायक वार्ता हुन लागेको हो।
माओवादीले एमालेबाट राष्ट्रपति नस्वीकार्ने अडान राखेपछि एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम सिफारिस गरेका छन्।
बिहीबार बसेको माओवादी केन्द्र, जनता समाजावादी र एकीकृत समाजवादीको बैठकले पनि राष्ट्रपतिको उम्मेदवारका विषयमा एमाले अध्यक्ष ओलीको ठोस प्रस्ताव सुन्ने निर्णय गरेको थियो।
ओलीले माधव नेपाललाई नै उम्मेदवार बनाउने प्रस्ताव गरे माधव नेपालले आफू तयार रहेको बिहीबारको बैठकमा बताएका थिए। एकीकृत समाजवादीले आफ्ना अध्यक्षको नाममा सहमति गर्न प्रस्ताव गरेको थियो।
पाँच दलीय गठबन्धन ब्युँताएर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सघाउने अनौपचारिक सहमति भइसकेको सार्वजनिक भएका बेला ओलीले नेपालको नाममा समर्थन जनाए नेपाललाई राष्ट्रपति बनाउन माओवादी तयार भएको बताइएको छ।
त्यसका लागि पूर्वसहमति अनुसार माओवादीको भागमा परेको उपराष्ट्रपति जसपालाई दिन माओवादी तयार भएको छ। हालको गठबन्धनमा एकीकृत समाजवादी आए यही गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवारले जित्ने निष्कर्षका साथ माधव नेपालको नाममा सहमतिको प्रयास भइरहेको हो।
आजै तीन दलले नेपाली कांग्रेससँग पनि छलफल गर्ने निर्णय गरेको छ। तर कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने निर्णय गर्दै माओवादीको पनि साथ पाउने अपेक्षा गरेको छ र, पुरानै गठबन्धन ब्युँताउने प्रयास जारी राखेको छ।
ओलीसँग हुने निर्णायक वार्ताले भावी राष्ट्रपति को हुने भन्ने तय हुने नेताहरुले बताएका छन्। भोलि राष्ट्रपति निर्वाचनका लागि मनोनय गर्ने दिन हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij