२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । माघ २८ गते काठमाडौंको भृकुटीमण्डपमा भएको विरोधसभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहतिर रहेका दर्जनौं नेताहरू आफ्नो समूहमा फर्किनका लागि वार्तामा रहेको र तीमध्ये दुई जना त मन्त्री नै रहेको खुलाए ।
प्रचण्डको यो भनाइले भृकुटीमण्डपमा त धेरैको ताली पायो नै यसले प्रधानमन्त्री केपी शर्मा ओलीको टिममा पनि हलचल ल्याएको छ, जसले गर्दा बिहीबार उर्जामन्त्री टोपबहादुर रायमाझी विज्ञप्ती नै निकालेर स्पष्टिकरण दिन बाध्य भए ।
हुन त मन्त्री रहेका पूर्वएमालेकै नेताहरू पनि ओली पक्षबाट प्रचण्ड–माधव नेपाल खेमातिर नसर्लान भन्न सकिन्न । अहिले त प्रचण्डले दाबी गरे झैं मत्री बनेका को को पूर्वमाओवादी नेता फर्किने तर्खरमा छन् भन्ने पनि स्पष्ट खुलिसकेको छैन । तर प्रधानमन्त्री ओलीको साथ लागेर मन्त्री बनेका पूर्वमाओवादी नेताहरुमा चरम निराशा पैदा भएको तिनका निकटस्थहरुले बताएका छन् ।
मन्त्रालयका हरेक निर्णयमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको तथा आफूले सिफारिस गरेका एक जनालाई पनि कतै नियुक्ति गराउन नसकेको भन्दै उनीहरु निराश भएका हुन् ।
पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल खेमा छाडेर ओलीतिर लागेका गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट र उर्जामन्त्री टोपबहादुर रायमाझीले अहिले पछुतो मान्न थालेको उनीहरुसँग निरन्तर सम्पर्कमा रहेका नेताहरुले बताए ।
खानेपानीमन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभु साह, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, श्रममन्त्री गौरीशंकर चौधरी पनि पूर्व माओवादी हुन् ।
विभिन्न निकायमा नियुक्ति, मन्त्रालयका निर्णयलगायत विषयमा यी मन्त्रीहरुलाई कार्यकर्ताको ठूलो दबाब छ । तर, उनीहरु आफैँले कुनै पनि निर्णय गर्न सक्ने स्थिति छैन। त्यसैले कार्यकर्ताको दबाब थेग्न उनीहरुलाई गाह्रो परेको छ ।
हालै सरकारले भूमि समस्या समाधान आयोगमा नियुक्ति गर्यो । उद्योगमन्त्री भट्टले आयोगमा सुदूरपश्चिमका केही व्यक्तिलाई नियुक्त गराउन खोजेका थिए। तर, उनले सिफारिस गरेका व्यक्तिहरु एक जना पनि नियुक्त भएनन् ।
भट्टले कैलाली र कञ्चनपुरबाट आयोगको अध्यक्ष बनाउन सिफारिस गरेका व्यक्ति नियुक्त नभएको भन्दै बलबहादुर महतराले केही दिनअघि भट्टको साथ छाडेका छन् ।
‘लेखराज भट्ट सर निकै निराश हुनुहुन्छ,’ उनलाई भेटेका एक नेताले भने, ‘उहाँले पार्टीको केन्द्रीय समितिमा मागेजति नपाएको र भूमि समस्या आयोगमा पनि आफूले भनेका नेताहरु नपरेको गुनासो गर्नुभयो ।’
उनका अनुसार भट्टले प्रचण्ड–नेपालतिर फर्किने बाटो बन्द भइसकेकाले ओलीलाई सहन नसके घरैमा बस्ने भन्दै निराशा व्यक्त गरेका थिए ।
‘मेरो त उता (प्रचण्ड–नेपालतिर) फर्किने बाटो छैन, सम्भव पनि छैन । यहाँको अवस्था केही समय हेरौँ। साह्रै भएन भने या त मोर्चा बदल्छु । त्यो पनि नसके घरै बस्छु,’ भट्टको भनाइ उधृत गर्दै ती नेताले भने ।
ओली पक्षसँग टिक्न नसकिने र प्रचण्ड–नेपाल समूहमा पनि फर्किन नसक्ने अवस्थामा अन्य विकल्पबारे पनि भट्टले छलफल थालेका छन् । त्यही क्रममा भट्टले जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग विभिन्न माध्यमबाट कुराकानी गरेका छन् । दुवै नेताका निकट स्रोतले कुराकानी भएको स्वीकार गरे ।
तर, पार्टीको गतिरोधको विषयमा नभई पूर्व सहयोद्धाका हिसाबले परामर्श गरिएको ती स्रोतहरुको दाबी छ । तर, भट्टका स्वकीय सचिव हितेश ओझाले भने प्रधानमन्त्रीसँगको समन्वयमा उद्योगमन्त्रीले राम्ररी काम गरिरहेको दाबी गरे ।
पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरेपछि भट्ट उनीतिर खुलेका हुन् । त्यस्तै, गृहमन्त्री रामबहादुर थापा पनि अहिले ओलीसँग असन्तुष्ट छन् ।
उनको असन्तुष्टिको कारण हो– जनवर्गीय संगठनमा ओलीको एकलौटी । जसका कारण थापानिकट युवाहरुले राष्ट्रिय युवा संघको दोस्रो केन्द्रीय समिति बैठक नै बहिष्कार गरे । बहिष्कारबीच युवा संघमा नेतृत्व चयन गरिएपछि थापा असन्तुष्ट बनेको युवा संघका नेता विरु तामाङले बताए ।
‘युवा संघमा देखिएको अन्तरविरोध हल गर्छौँ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,’ थापाको भनाइ उधृत गर्दै तामाङले भने, ‘यो निर्णयलाई पार्टीले मान्यता दिँदैन, अवैधानिक छ। फागुन २ गते स्थायी समिति बैठक बसेर यी सबै विवाद हल गर्छौँ ।’
थापाले यो विषयलाई ओली, महासचिव विष्णु पौडेल र जनवर्गीय संगठनका प्रमुख टोपबहादुर रायमाझीलाई समेत जानकारी गराएका थिए ।
युवाहरुले २ गते पनि विवाद समाधान नभए विद्रोह गर्ने चेतावनी दिएपछि थापा दबाबमा छन् । उर्जामन्त्री रायमाझीले पनि निकटस्थहरुसँग ओलीप्रतिको असन्तुष्टि पोख्न थालेका छन् ।
ठूला कार्यक्रमहरु आयोजना गर्दा आफूसँग परामर्श नगरिएको, मञ्चमा स्थान नदिइएको भन्दै उनले गुनासो गरेका हुन् ।
जनवर्गीय संगठनहरुको प्रमुख हुन् रायमाझी । तर, उनीसँग कसैले एक वचन पनि नसोधी युवा संघको भेला आयोजना गरेर नेतृत्व चयन गरियो। असन्तुष्ट युवाहरु रायमाझीलाई गुहार्न पुगेका थिए। त्यसबेला पनि उनले लाचारी प्रकट गरेका थिए ।
‘ओली समूहभित्र पनि साथीहरुको खिचातानी रहेछ, गुट, उपगुट रहेछन् । प्रधानमन्त्रीले भनेमात्र मिल्ने नत्र नमिलाउने रहेछन्,’ रायमाझीले युवाहरुसँग भनेका थिए ।
पछिल्ला दिनमा रायमाझी पनि जसपाका डा. भट्टराईसँग संवादमा छन् । माओवादीमा रहँदा लामो समय भट्टराईकै गुटमा थिए रायमाझी ।
पछिल्लो समय प्रचण्डलाई छाडेर ओलीतिर लागेका उनी प्रचण्ड र भट्टराईसँग पनि निरन्तर सम्पर्कमा रहेको स्रोतहरूको भनाइ छ ।
‘भट्टराई र रायमाझी लामो समय एउटै पार्टी र विचार समूहमा हुनुहुन्थ्यो, जसले गर्दा उहाँहरुबीचको व्यक्तिगत निकटता कायमै छ,’ रायमाझी निकट एक नेताले भने, ‘त्यसले गर्दा उहाँहरुबीच अहिलेपनि कुराकानी भइरहन्छ, जुन स्वभाविक हो ।’
२८ गतेको सभामा प्रचण्डले ओली पक्षमा लागेका दुई मन्त्री फिर्ता हुन खोजिरहेको अभिव्यक्ति दिएका थिए। लगत्तै असन्तुष्ट मन्त्रीहरुबारे विभिन्न अड्कलबाजी चल्न थाल्यो । त्यसैले बिहीबार रायमाझीको सचिवालयले एक विज्ञप्ति जारी गर्दै उनी ओलीकै पक्षमा रहेको स्पष्ट पारेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij