२०८२ भाद्र ३ गते मंगलवार
निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
यसअघि गत ४ मंसिरमा भएको निर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, नेपाली नागरिकता त्यागेर अमेरिकन नागयिरकता लिएको र अमेरिकन नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पुरा नगरेको भनी सर्वोच्च अदालतले फैसला गरेपछि लामिछानेको पद गएको थियो ।
उपनिर्वाचन सम्बन्धी व्यवस्था प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६८ मा छ । जहाँ भनिएको छ, ‘…पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ ।’ यही व्यवस्था अनुसार निर्वाचन आयोगले चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गतेका लागि तय भएको प्रतिनिधि सभा उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नै उम्मेदवार बन्ने भएका छन्।
नागरिकता प्रकरणका कारण सांसद पद गुमाएका लामिछाने उपनिर्वाचनमा उम्मेदवार बन्ने रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए। ‘पार्टीको तर्फबाट सभापति रविजी नै उम्मेदवार बन्नुहुन्छ,’ बुर्लाकोटीले भने, ‘उहाँ हाम्रो लिडर हो, उहाँकै क्षेत्रमा अरु उठ्ने कुरा रहेन।’
यसबारे सोमबार बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने सम्भावना छ। पार्टी कार्यालय बसुन्धरामा सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको छ। आइतबार विहान उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमा लामिछानेले उपनिर्वाचनबारे चासो राखेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij