२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न धनगढी पुगेका छन् । तर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित अन्य मन्त्रीहरु प्रधानमन्त्री ओलीको स्वागतका लागि गएनन् ।
गुटको सभालाई सम्बोधन गर्न धनगढी आएका प्रधानमन्त्रीको स्वागतमा आफूहरु नगएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । उनले भने, ‘हाम्रो आन्तरिक बैठकले प्रधानमन्त्रीको स्वागतमा नजाने निर्णय गरेको हो ।’
यसअघि संघीय सरकारका उद्योगमन्त्री लेखराज भट्टको स्वागतमा पनि मुख्यमन्त्री भट्ट गएका थिएनन् । त्यसपछि मन्त्री भट्टले आफ्नो स्वागतमा नआएर मुख्यमन्त्रीले राजनीतिक संस्कार बिर्सेको टिप्पणी गरेका थिए।
नेकपा ओली समूहको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी पुगेका हुन् । उनी बिहान ९ बजे नै धनगढी पुग्ने भनिए पनि खराब मौसमका कारण विमान उड्न ढिलाइ भएको थियो । धनगढीको खुलामञ्चमा हुने जनसभामा ५० हजार जनता उतार्ने ओली समूहको दाबी छ ।
प्रतिनिधिसभा विघटन गरेपछि ओली पहिलो पटक काठमाडौँ उपत्यकाबाहिरको कार्यक्रममा सहभागी भएका हुन् ।प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पार्टी विभाजनपछि सुदूरपश्चिममा ओली समूह कमजोर छ । नेकपाका ३९ जना सांसद मध्ये ओली समूहमा मात्रै ७ जना छन् ।
तर ओलीले सुदूरपश्चिममा आफ्नो पकड जमाउन प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रीमण्डलमा सुदूरपश्चिमबाट मात्रै तीनजनालाई संघीय सरकारको मन्त्री बनाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij