२०८२ भाद्र २ गते सोमवार
पोखरा। पोखरामा आजदेखि १८औं संस्करणको माछापुच्छ्रे खुला टेनिस प्रतियोगिता हुँदैछ। पोखरा रंगशालामा हुने प्रतियोगितामा महिला र पुरुष खुलासहित भेट्रान्स इभेण्ट हुनेछ। कास्की जिल्ला टेनिस संघको आयोजनामा हरेक वर्ष प्रतियोगिता हुँदै आएकोमा गत वर्ष कोरोना संक्रमणका कारण रोकिएको थियो। रंगशालाभित्रका ६ वटा टेनिस कोर्टमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ।
महिला पुरुषको खुलाबाहेक पुरुषतर्फ ३५ वर्षमाथिको एकल र डबल्स, ४५ वर्षमाथिको एकल र डबल्स, ५५ वर्षमाथिको उमेर समूहको एकल र डबल्स र ६५ वर्षमाथिको उमेर समूहको एकल गरी ११ इभेण्टमा प्रतिस्पर्धा हुने टेनिस संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक नविन चालिसेले जानकारी दिए।
पुरुष एकलतर्फ १६ जना, डबल्सतर्फ ९ समूहको प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ एकलमा १२ जना र डबल्सतर्फ ७ टोलीले प्रतिस्पर्धा गर्ने छन्। उमेर समूहतर्फ ३५ वर्षमाथिको उमेर समूहको एकलतर्फ २१ जना र डबल्सतर्फ १३ टिमले प्रतिस्पर्धा गर्ने छ। ४५ वर्षमाथिको उमेर समूहमा एकलतर्फ ३२ जना र डबल्सतर्फ २१ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
त्यस्तै ५५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा १५ जना एकलतर्फ र १३ टिम डबल्सतर्फ प्रतिस्पर्धा गर्ने छन्। ६५ वर्षमाथिको उमेर समूहमा भने ८ जनाले प्रतिस्पर्धा गर्ने छन्। राप्रपाका पूर्वअध्यक्ष कमल थापा पनि प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगिताका विजेताले ८० हजार र उपविजेतालाई ४० हजार नगद पुरस्कार छ। डबल्सतर्फका विजेताले नगद ३० हजार र उपविजेताले १५ हजार एवं सेमिफाइनलिष्टले १० हजार प्राप्त गर्ने छन्। उमेर समूहअन्तर्गत ३५ वर्षमाथिको उमेर समूह विजेतालाई एकलतर्फ ६० हजार र उपविजेतालाई ३० हजार नगद पाउँदा डबल्सतर्फ २० र १० हजार पुरस्कार छ।
४५ वर्षमाथिको उमेर समूहको एकलतर्फ ४० हजार र उपविजेताले २० हजार, डबल्सतर्फ विजेतालाई २० र उपविजेतालाई १० तथा ५५ वर्षमाथिका एकल विजेताले ३० हजार र उपविजेताले २०, डबल्सतर्फ विजेताले २० र उपविजेताले १० हजार पुरस्कार पाउँछन्। ६५ वर्षमाथि भने समूह विजेतालाई १० हजार पुरस्कार छ। सबै इभेण्टमा सेमिफाइनल खेल्ने सबैलाई १० हजार नगद उपलब्ध गराइने चालिसेले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij