२०८२ माघ ७ गते बुधवार
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नयाँ नेतृत्व पाएको छ। हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ सिबिफिनको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। नबिल बैंकको साधारण सभापछि सञ्चालक समितिबाट उपेन्द्र पौडेल बाहिरिएसँगै रिक्त रहेको अध्यक्ष पदमा श्रेष्ठलाई नियुक्त गरिएको हो।
माघ ६ गते कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा बसेको कार्यसमितिको १५औँ बैठकले बाँकी कार्यकालका लागि श्रेष्ठलाई जिम्मेवारी सुम्पिएको छ। बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका श्रेष्ठ यसअघि महासचिवको भूमिकामा थिए।
पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष श्रेष्ठले संस्थापक अध्यक्ष पवन गोल्यान र निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले खडा गरेको विरासतलाई जोगाउँदै बैंकिङ क्षेत्रको दिगो विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी, नवनियुक्त अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको १६औँ बैठकले अन्य पदाधिकारीको पनि टुङ्गो लगाएको छ। सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोजकुमार गोयल र कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल सर्वसम्मत मनोनीत भएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij