Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

इसीडी शिक्षकको तलबसहित २७ विद्यालयलाई चार करोड खर्च गर्न पायो यस्तो अनुमति

इसीडी शिक्षकको तलबसहित २७ विद्यालयलाई चार करोड खर्च गर्न पायो यस्तो अनुमति


  • 5.7K
    Shares

    इसीडी शिक्षकको तलबसहित २७ विद्यालयलाई चार करोड खर्च गर्न  पायो यस्तो अनुमति
    images

    डडेल्धुरा । डडेल्धुराका सरोकारवाला निकायले सामाजिक विकास कार्यालय डडेल्धुराको काम कारबाहीबारे असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार सामाजिक विकास कार्यालयले चालू आर्थिक वर्ष २०७८र०७९ को वार्षिक बजेट तथा कार्यक्रमबारे गरेको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा यस्तो असन्तुष्टि व्यक्त भएको हो ।

    अभिमुखीकरण कार्यक्रममा सहभागी अधिकांश व्यक्तिले कार्यालयको काम कारबाहीबारे असन्तुष्टि जनाए । अरू वर्ष कार्यालयको काम कारबाहीबारे जानकारी नै नहुने भए तापनि यसपालि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेकामा अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले धन्यवाद दिए ।

    ‘अजयमेरुमा थुप्रै विद्यालयका भवन निर्माणाधीन अवस्थामै छन् । तर, कार्यालय हाम्रो पालिकाका विद्यालयको भौतिक सुधारमा केन्द्रित रहेको जानकारी पाएँ । तर, हामीसँग समन्वय नै गरेनन्’, उनले भने । आवश्यकता अनुसार कार्यक्रम नआउने र योजनाहरूको नाम, ठेगाना स्पष्ट नहुँदा स्थानीय तहमा विवाद हुने गरेको गन्यापधुरा गाउँपालिका अध्यक्ष नबलबहादुर मल्लले बताए ।

    सामाजिक विकास कार्यालयमा भूमिगत शैलीमा योजना तथा कार्यक्रम आउने र बजेट तोकेर वितरण हुने गरेको सहभागीको आरोप थियो । सामाजिक विकास कार्यालय डडेल्धुराले आफ्नो पालिकामा कार्यक्रम नै नगरेको भन्दै भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले आक्रोश पोखिन् । उनले भनिन्, ‘विपद्‌मा स्थानीय तहले सबै काम गर्ने । प्रदेश सरकारले सहयोग नै नगर्ने? विपद्को कारण हाम्रो विद्यालयमा विद्यार्थी विद्यालय जान सक्ने अवस्था नै छैन ।’

    कार्यालयका कार्यक्रम योजना भने कुन तवरबाट छनोट हुन्छन् भन्नेमा कार्यालय नै अन्योलमा रहेको छ । मन्त्रालयबाट तोकिएर आएका योजना कार्यालयबाट संचालन हुने कार्यालय प्रमुख बताउँछन् । कार्यक्रमबाट आएका सल्लाह, सुझाव अनि प्रतिक्रियालाई आत्मसात् गर्दै अगाडि बढ्ने कार्यालय प्रमुख गोपालदत्त जोशीले बताए ।

    २७ विद्यालयमा चार करोड रुपैयाँ खर्च गर्ने

    सामाजिक विकास कार्यालय डडेल्धुराले चालू आर्थिक वर्ष २०७८र०७९ को वार्षिक बजेटमा करिब चार करोड रुपैयाँ खर्च गर्ने भएको छ । कार्यालयले यहाँका स्थानीय तहका विद्यालयमा यो रकम खर्च गर्न लागेको कार्यालय प्रमुख जोशीले बताए ।

    उनकाअनुसार विद्यालयमा भवन, घेरबार र सूचना प्रविधिसहित भौतिक संरचनामा तीन करोड ९५ लाख रुपैयाँ खर्च गर्ने भएको हो । जिल्लास्तरीय अभिमुखीकरणमा २७ वटा कार्यक्रममा उक्त रकम खर्च गर्नेबारे बताइएको थियो । १२ वटा विद्यालयमा २०र२० लाख रुपैयाँका दरले दुई कोठे भवन निर्माण गरिने उनको भनाइ छ ।

    ‘१४ वटा विद्यालयमा १०र१० लाखका दरले सूचना प्रविधिसहित भौतिक संरचना सुधार र एउटा विद्यालयमा १५ लाख रकममा घेरबार गर्ने कार्यक्रम रहेको छ’, उनले भने, ‘अहिलेसम्म कुनै पनि विद्यालयले सूचना प्रविधि निर्माणका लागि प्रस्ताव गरेका छैनन् । सबै विद्यालयले भौतिक संरचना सुधारको माग गरेका छन् ।’

    कार्यालयमा महिला, दलित, अपांगता सशक्तीकरण र खेल मैदान निर्माणका कार्यक्रम मन्त्रालयबाट अख्तियारी आउन सक्ने पनि उनले जिकिर गरे । यस्तै, कार्यालयले नगरपालिका र गाउँपालिकाका प्रारम्भिक बालविकास सहजकर्ता ९इसीडी शिक्षक० र विद्यालय कर्मचारीलाई मासिक तलब र उत्कृष्ट बालविकास शिक्षकलाई १०र१० हजार रुपैयाँका दरले समेत सिधै शिक्षकको खातामा रकम जम्मा गर्ने भएको छ । 

    विद्यालयमा भएको क्षतिबारे जानकारीविहीन

    ३१ असोजदेखि आएको अविरल वर्षाले जिल्लामा रहेका अधिकांश विद्यालयमा क्षति गरेको छ । तर, यता सामाजिक विकास कार्यालयले भने आफूहरूलाई कुन-कुन विद्यालयमा क्षति भएको छ भनेरसमेत जानकारी नआएको बताएको छ ।

    कार्यालय प्रमुख जोशीका अनुसार गन्यापधुरा गाउँपालिकामा रहेको गणेश माध्यमिक विद्यालयमा क्षति भएको मात्र जानकारी रहेको छ । ‘क्षतिबारे जानकारी गराउन अनुरोध गर्दछु । क्षतिको विवरण मन्त्रालयमा पठाउँछु’, उनले भने । 

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - १२:२५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij