२०८२ श्रावण ३१ गते शनिवार
शैक्षिक परामर्श लिन स्टडी इन्फो सेन्टरले विद्यार्थीहरूका लागि नयाँ वेबसाइटको शुभारम्भ गरेको छ।
वरिष्ठ शिक्षाविद् प्रा डा केदारभक्त माथेमाले स्टडीइन्फोसेन्टरडटकम शैक्षिक सूचनामुलक वेब पोर्टलको शुभारम्भ गरेका छन्।
उनले एक अनलाइन जुममा भएको कार्यक्रममार्फत त्यसको शुभारम्भ गरेका हुन्।
त्यस कार्यक्रममा विभिन्न देशका शिक्षाविद्, शैक्षिक संस्थाका प्रतिनिधि, विद्यार्थी तथा सञ्चारकर्मीहरू उपस्थित थिए। स्टडी इन्फो सेन्टर प्रा.लिद्वारा सञ्चालित उक्त वेब पोर्टल नागरिक तथा गैरआवासीय नेपाली नागरिकहरूको संयुक्त लगानीमा बनेको हो।
आफूलाई उपयुक्त कलेज खोज्न, कलेजहरू बीच तुलना गर्न, कलेजसँग सम्पर्क गर्न र आफूले छनोट गरेको कलेजमा भर्ना आवेदन दिन यो पोर्टल उपयोगी हुने बताइएको छ।
साथै, यस पोर्टलमार्फत् विद्यार्थी तथा अभिभावकले विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्न सक्ने सुविधा पनि उपलब्ध छ।
'विद्यार्थीहरूको उच्च शिक्षासम्बन्धी देश र विदेशमा आवश्यक सम्पूर्ण सूचनाहरू एउटै पोर्टलबाट दिने उद्धेश्य यस पोर्टलको रहेको छ,'संस्थाका निर्देशक टि एन अर्यालले भने। स्टडी इन्फो सेन्टर प्रा.लिले यस्तो प्रकृतिको पोर्टल नेपालमै पहिलो पटक बनेको दाबी गरेको छ।
देश तथा विदेशमा समेत आफूले अध्ययन गर्न चाहेको विषय, शैक्षिक संस्था, लाग्ने खर्च, त्यस स्थानमा रोजगारीका अवसरहरू, अध्ययन गर्न चाहेको ठाँउमा शिक्षा तथा भिसा नीतिहरूको सूचना समेत यस पोर्टलमा समावेश गरिएको छ।
आयोजकहरूका अनुसार विद्यार्थीलाई सूचनामा सुलभ पहुँच पुर्याउन यस संस्थाले सूचना प्रदायक अन्य पोर्टलहरू पनि सञ्चालनमा ल्याउन लागेको छ। त्यसको लागि सबै पक्षको सुझाव र हौसलाको अपेक्षा पनि गरेको बताएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij