२०८२ माघ १५ गते बिहिवार
झण्डै साढे तीन वर्ष प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रधानमन्त्री केपी ओली आज विदा भएका छन् । सोमबार सर्वोच्च अदालतले ओलीले गरेको प्रतिनिधिसभा विघटन खारेजीसँगै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै उनको बहिर्गमन भएको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै आफ्ना कुरा राख्ने बताइएको छ ।
पछिल्लो समयमा दुई कार्यकाल गरेर साढे तीन वर्ष प्रधानमन्त्री हुँदा आफूले अरुले गर्न नसकेका कामहरु गरेको ओलीले गर्ने गरेका छन् । तर, यसबीचमा उनले थुप्रै गर्न नहुने र विवादस्पद कामसमेत गरेका छन् । ती कामको फेहरिस्त यहाँ हामीले खोतल्ने प्रयास गरेका छौं ।
प्रधानमन्त्री ओलीले नेपाल ट्रष्टको सरकारी जग्गा यति समूहलाई सस्तो भाडामा दिएका थिए । यसलाई लिएर सर्बत्र आलोचना भयो तर उनी आफ्नो निर्णयबाट पछि हटेनन् । आर्थिक प्रलोभनमा परेर ओलीले यति समूहलाई सरकारी जग्गा सस्तोमा दिएको बताइएको छ ।
ओलीकै कार्यकालमा मेडिकल उपकरणमा ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको आरोप लाग्यो । त्यो वेला स्वास्थ्यमन्त्री भने उनका विश्वासपात्र भानुभक्त ढकाल थिए ।
त्यस्तै, ओलीकै कार्यकालमा वाइडबडी खरिदमा ६ अर्ब भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिले ठहर गर्यो । सो वेलाका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भयो । त्यसपछि भने यो प्रकरण अलि सेलायो ।
त्यतिमात्र होइन ओलीले ओम्नी समूहलाई स्वास्थ्य सामग्रीको ठेक्का दिए । यो पनि आर्थिक र राजनीतिक प्रभावमा परेर दिइएको बताइन्छ ।
त्यसैगरी, ओली सरकारले अनुदानको सामान छोडेर नक्कली स्वास्थ्य सामग्री खरिद गर्यो । कोरोना भाइरसको महामारीको वेला यस्तो ‘कुकार्य’ गरिएको भन्दै यसको सर्वत्र विरोध पनि भयो ।
ओली सरकारका सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी मेसिन खरिदमा ७० करोडको कमिशनको बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भयो । त्यसपछि बाास्कोटाले नैतिकताका आधारमा भन्दै राजीनामा दिए । तर, ओलीले उनीमाथि कुनै कारवाही गरेनन् ।
ओलीले अरुको पार्टी फुटाएर भए पनि आफ्नो सरकार जोगाउन दल विभाजनसम्बन्धि अध्यादेश जारी गरे । सर्वत्र आलोचना भएपछि उनी फिर्ता लिन बाध्य भए ।
ओलीले विवादस्पद अमेरिकी परियोजना एमसिसी पास नहुँदै कार्यान्वयन सम्झौता लागू गरे । यसमा पनि उनको व्यक्तिगत स्वार्थ जोडिएको विश्लेषण गरिएको छ ।
ओलीले संवैधानिक अंगलाई गुटको भर्ती केन्द्रमा रुपान्तरण गरे । उनले आफ्ना मान्छे भर्ना गर्ने क्रममा विगतमा विवादस्पद छवि भएकाहरुलाई पनि स्थान दिए ।
ओली सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने हेतुले तथा मिडिया नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक ल्यायो ।
ओलीले आफ्नो कार्यकालमा चीनसँग धेरै सम्झौतां गरे र तर गरिएका सम्झौता कार्यान्वयनमा भनें अरुचि देखाए ।
ओलीले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा अतिक्रमण गर्ने आफ्नै गुटका विष्णु पौडेललगायत पार्टीका नेताहरुलाई संरक्षण दिए ।
ओलीकै नेतृत्वमा भारतले अतिक्रमण गरेको भनिएका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर चुच्चे नक्सा जारी भयो । तर, पछि कार्यान्वयनमा भने उनी आफैं पछि हटे । पाठ्यक्रममा चुच्चे नक्शा हटाएर भारतको विश्वास जित्ने प्रयास गरेको आरोप उनीमाथि लागेको छ ।उनले चुच्चे नक्सा जारी गरेर उग्र राष्ट्रवाद खडा गरेको तर त्यो अन्त्यमा नक्कली राष्ट्रवादमा पतन भएको अधिका.शको आरोप छ ।
ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकालमै भारतीय खुपिया एजेन्सी रअका प्रमुख सामन्त गोयलसँग मर्यादाविपरीत मध्यरातमा गोप्य भेट गरे । यो निकै विवादस्पद रह्यो ।
ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णयको खारेजी गरिदिए । यस निर्णयले उनी तानाशा बन्न खोजेको आरोप लाग्यो । कतिपयले भने उनले व्यवस्थामाथि नै धावा बालेको बुझे ।
यी त भए ओलीले आफ्नो कार्यकालमा गरेका केही विवादस्पद र गलत कामका केही दृष्टान्त मात्रै । उनले आफ्नो कार्यकालमा अन्य थुप्रै गलत काम गरेका छन् । यहाँ हामीले ५० वटालाई समेटेका छौं । अब हेर्नुहोस् उनले गरेका ५० वटा विवादस्पद र गलत काम बुँदागत रुपमा :
(१) ट्रष्ट र सरकारी जग्गा यति समूहलाई हस्तान्तरण ।
(२) मेडिकल उपकरणमा ३ अर्ब भ्रष्टाचार ।
(३) वाइडबडी खरिदमा ६ अर्ब भ्रष्टाचार ।
(४) राज्यको अर्बौं रकमले गुटको भरणपोषण ।
(५) ओम्नी समूहलाई स्वास्थ्य सामग्रीको ठेक्का ।
(६) अनुदानको सामान छोडेर नक्कली स्वास्थ्य सामग्री खरिद ।
(७) राष्ट्रिय गौरवका आयोजनाबाट अर्बौंको कमिसन ।
(८) सेक्युरिटी मेसिन खरिदमा ७० करोडको बार्गेनिङ ।
(९) सिण्डिकेट जोगाएर अर्बौंको कमिसन र घुस ।
(१०) संघीय सांसदलाई दिनदहाडै अपहरण गर्न लगाएको ।
(११) पार्टी फुटाउन दल विभाजनको अध्यादेश जारी ।
(१२) नेकपाको अध्यक्ष आफू हुँदाहुँदै निर्वाचन आयोगमा एमाले दर्ता ।
(१३) आलोचकलाई सल्लाहकारको ज्यान मार्ने धम्की ।
(१४) राष्ट्रहीतविपरितको भनिएको अमेरिकी परियोजना एमसिसी सम्झौंता पारित गर्न जोरजुलुम ।
(१५) एमसिसी पास नहुँदै कार्यान्वयन सम्झौता लागु ।
(१६) संवैधानिक अंगलाई गुटको भर्ती केन्द्रमा रुपान्तरण ।
(१७) मदन भण्डारी फाउन्डेसनका नाममा देशभरी गुट भेला ।
(१८) मिडिया नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक ।
(१९) पार्टी फुटाउन निरन्तर गुट भेला र प्रशिक्षण ।
(२०) संसद चल्दाचल्दै संसद अधिवेशन अन्त्यको घोषणा।
(२१) संकटकाल लगाउन पटकपटक छलफल र प्रयास ।
(२२) चीनसँग गरिएका सम्झौता कार्यान्वयनमा अरुचि ।
(२३) मन्त्रालयहरुमा भ्रष्टाचारको सम्भावना खोज्ने गिरोह गठन ।
(२४) सचिवलाई उचालेर मन्त्रीहरुमाथि प्रहार, काममा अवरोध ।
(२५) बालुवाटारको जग्गा अतिक्रमण गर्ने नेताको संरक्षण ।
(२६) आफ्नै प्रदेश सरकार गिराउन अविश्वासको प्रस्ताव ।
(२७) खुलामञ्चमा निमुखालाई खाना बितरणमा रोक ।
(२८) राम्रो काम गरेका कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट अवकाश, ‘असक्षम’ सालोलाई नियुक्ति ।
(३९) पर्सामा आफ्नै पार्टी कार्यकर्ताको हत्यारालाई संरक्षण ।
(३०) सरकारी अड्डालाई असक्षम गिरोहको भर्तीकेन्द्रमा रुपान्तरण ।
(३१) स्थायी समितिलाई हुल्लडबाड, केन्द्रीय समितिलाई सडकछापको बिल्ला ।
(३२) लिम्पियाधुरासहितको चुच्चे नक्शा हटाएर भारतको विश्वासपात्र बन्ने प्रयास, भूभाग फिर्ताका लागि उदासिनता ।
(३३) रअ प्रमुखसँग मर्यादाविपरित गोप्य रुपमा भेट र साँठगाँठ ।
(३४) पार्टी निर्णय र प्रचलित विधि नमान्ने सार्वजनिक घोषणा ।
(३५) शीर्ष नेताविरुद्ध सडकमा कार्यकर्ता परिचालन र चरित्रहत्या ।
(३६) लिम्पियाधुरासहितको नक्शा भएको पुस्तक वितरणमा रोक ।
(३७) कोभिड नियन्त्रणमा लापरर्वाही र चरम भ्रष्टाचार ।
(३८) शितल निवास र बालुवाटारको सुविधामा वृद्धि ।
(३९) राष्ट्रपतिका लागि अर्बौंको हेलिकोप्टर र सुविधा ।
(४०) शितल निवासलाई गुटको हेडक्वार्टरमा रुपान्तरण ।
(४१) संघीयताको अपमान, प्रदेश संघको इकाई भएको घोषणा ।
(४२) संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णय खारेजी ।
(४३) समाजवाद छोडेर दलाल नोकरशाही पुँजीवादको अभ्यास ।
(४४) सक्षम मन्त्रीहरुको बर्खास्ती, असक्षमहरुको नियुक्ति ।
(४५) डा. गोविन्द केसीका माग र जीवनप्रति उदासिनता र आक्रमण ।
(४६) आफूनिकटका आरोपी नेताहरुको संरक्षणमा अग्रसरता ।
(४७) ओली सचिवालयबाट काठमाडौं प्रेस मिडिया ह्याक ।
(४८) मिडियालाई मुखपत्र बनाउने कोसिस, नमान्नेमाथि आक्रमण ।
(४९) दुई–दुई पटक संसद् विघटन र मध्यावधि निर्वाचनका लागि प्रयास ।
(५०) राजीनामा मागे प्रधानमन्त्रीको कुर्सी भाँच्ने घोषणा ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij